अवकाशपछि राजनीतिमा पनि आउने संभावना छ :लीलामणि पौडेल

लिलामणि पौडेले नेपालको निजामती प्रशासनमा एक हक्की र प्रखर प्रशासकको पहिचान बनाएको व्यक्ति हुन् । विवेकले भ्याएसम्म जानेर राष्ट्रको कहिल्यै कुभलो नसोच्ने र राष्ट्रिय सम्पतिको दुरुपयोग गर्नु हुन्न भन्ने अडान राख्ने उनी केही दिनपछि नै मुख्य सचिव पदबाट अवकाश हुँदैछन् । बाग्मती सफाई अभियानको अभियान्ता बनेर सम्पूर्ण निजामती, जंगी र अन्य सबै राष्ट्रसेवकलाई तताएका उनी अवकाशपछिको जीवन कसरी उपयोग गर्ने भन्नेबारे निर्णयमा पुगीसकेका छैनन् । भन्छन्, ‘राजनीतिमै लाग्ने संभावना पनि छ ।’

तीन वर्ष मुख्य सचिव भएर बिदा हुदै हुनुहुन्छ, यस अवधिमा के गरें भन्ने लाग्छ ?

मेरो कार्यकालको हरेक मिनेट र हरेक क्षण खेर जान नदिएर सदुपयोग गरें । मैले आफूले गर्ने काम वा यहाँबाट सम्पादन गर्ने कामबाट के मुलुकको स्थायित्व र समृद्धिलाई योगदान पुग्छ ? के त्यसले मुलुकको राष्ट्रिय स्वार्थ र साखलाई उँचो बनाउँछ ? के निजामती सेवाको कार्यदक्षता र छविलाई उज्यालो बनाउछ ? यी विषयमा यदि सकरात्मक उत्तर आउँछ भने म यसलाई उपलब्धि ठान्छु । मैले आफ्नो पदीय हैसियत र व्यक्तिगत रूपमा पूरा तागत प्रयोग गरें । माथिको प्रश्नको सकारात्मक उत्तर आयो भने इमानदारीपूवर्क पूरै बल लगाएर त्यसलाई रोक्ने प्रयत्न पनि गरें । पदीय सीमा हुन्छन्, व्यक्तिगत सीमा हुन्छन्, ती सीमालाई ख्याल गरेर अहिले तीन वर्षपछाडि फर्केर हेर्दा आफूले आफ्नो पदलाई न्याय गरें भन्ने लाग्छ ।

सन्तुष्ट हुनुहुन्छ ?

निश्चय नै । यो पद पाएर यसमा आफूले आफ्नो पूरा क्षमता राष्ट्रको हितमा प्रयोग गर्नु भनेको खुसी र गर्वको कुरा हो । अत्यन्तै जटिल र प्रतिकूल अवस्थामा काम गर्नुप¥यो ।

प्रशासनिक क्षेत्रमा के कति सुधार गरें भन्ने लाग्छ ?

धेरै मान्छेहरू र कतिपय बुझेका मान्छेहरूले पनि मुख्यसचिवले त नीति बनाउने हो, यो वा त्यो गरे हुन्थ्यो भन्ने कुरा गर्छन् । मुख्यसचिव भनेको नीति निर्माता होइन । यो प्रत्यक्ष आफैं कार्यान्वयनकर्ता पनि होइन । फेरि सेना र प्रहरीको हाकिमजस्तो आफ्नो फोर्सको कमान्डर पनि होइन । बाहिरका मान्छेहरूको ब्ुझाइमा कमजोरी रहेको कारणले प्रोजेक्टजस्तो कहाँ कमजोरी रह्यो, कहाँ सुधार भयो वा भएन भन्छन् । त्यसैले यो मुख्यसचिवको जिम्मेवारी र मुख्यसचिवको पदको कार्यविवरणसँग त्यति धेरै जानकार नभएको मान्छेले भन्ने कुरा हो ।

गरेका कामहरू चाहि के–के हुन् नि ?

मैले सुरुमा केही कुरामा सुधारका लागि मेरा प्रयासहरू केन्द्रित हुनेछन् भनेको थिए“ । एउटा, भ्रष्टाचारमा शून्य सहनशीलता हो । शून्य सहनशीलता भनेको आफू नगर्ने, आफ्नो सबैभन्दा प्रियतम् व्यक्ति पनि भ्रष्टाचारमा संलग्न छ भने त्यसको विरोध गर्ने र कारबाही र दण्ड  दिलाउनका लागि पूरै क्षमता लगाउने । त्यो मैले कही“ पनि सहिन“ ।  दोस्रो, मैले ‘रेस्पोन्सिभ गर्भमेन्ट’ भनेको थिए“ । जनताको दैनन्दिन समस्याप्रति नेपालको सार्वजनिक सेवालाई उत्तरदायी बनाउने प्रयत्न मेरो रह्यो ।

त्यसका लागि के–के गर्नुभयो त ?

नेपालभरिबाट सोझै जनताका गुनासा सुन्ने र त्यसलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने प्रयास गरियो । आफंैले नेपालभरिका समस्या र विकृतिका बारेमा जानकारी लिएर ती विकृति विसंगतिका विरुद्ध सरकारी संयन्त्र र आफ्नो बलबुता प्रयोग गर्ने कुरा पनि गरें । त्यसमा मैले आफ्नो भरपूर क्षमता देखाए । वैदेशिक रोजगार व्यवसायमा गरिब नेपालीहरूलाई ठग्नेलाई कारबाही गर्न, विदेशमा पसेर न्याय नपाएकाहरूलाई न्याय दिलाउन, ठेक्कापट्टामा हुने अनियमितता र गुणस्तरहीन काम गरेर राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने, लामो समय ठेक्का लिएर काम नगर्ने प्रवृत्ति विरुद्ध कर्मचारीलाई र सम्बद्ध व्यक्तिलाई सचेत गराउन केही कोसिसहरू भएका छन् ।

साथै, औषधिमा कालोबजारी गर्ने खराब व्यवसायी र त्यसैलाई प्रवद्र्धन गर्ने मेडिकलकर्मीको कुरा होस् वा मेडिकलजस्तो विशुद्ध पेसालाई छिटो पैसा कमाउने गतिलो उपाय बनाउनलाई सबै किसिमका साम, दाम, दण्ड, भेद प्रयोग गर्ने संगठित शक्तिलाई ललर्काने कुरामा होस्, केही न केही सुधारको प्रयत्न भएको छ । संस्थागत विद्यालयका नाममा निजी शैक्षिक संस्था खोलेर अधिक नाफा दोहन गरेर शिक्षाको माध्यमबाट समाजमा वर्ग सृजना गरेर राज्यसत्तालाई चुनौती दिनेहरूसँग लड्ने कुरा होस्, चाहे निजामती शासनभित्रै बसेर राजनीतिक दलका भ्रातृसंगठन जस्तो भएर राज्यका वैधानिक सञ्चालन पद्धतिमाथि चुनौती  दिने, काम नगर्ने, काम गर्नेलाई अवरोध सृजना गर्ने र राजनीतिक आडभरोसामा पदीय जिम्मेवारी बहन नगर्ने कर्मचारी हुन्, यी सबैसँग सम्झौताहीन संघर्ष गरेको छु ।

भनेपछि, तीन वर्ष लड्दालड्दै बित्यो ?

पर्याप्त लडियो । विकृतिका बाहक बनेका कुनै पनि संगठित शक्ति छैनन्, जोसँग मैले सोझो प्रतिरोध नगरेको होस् ।

मन्त्रिपरिषद्भित्रै पनि संघर्ष गनुभयो ?

मन्त्रिपरिषद् पनि त्यसैको प्रतिविम्ब हो । ती सबै संगठित शक्तिहरूले मन्त्रिपरिषद्को शक्ति प्रयोग गरेर, मन्त्रिपरिषद्को खोल ओढेर गलत निर्णय गराउन खोज्ने र त्यसैलाई बोक्ने राजनीतज्ञहरूसँग अन्तरद्वन्द्व भइरह्यो ।

तपाईलाई मन्त्रिपरिषद् बैठकबाट बाहिर निकाल्न पनि बैठकमै माग भयो भन्नेसम्म सुनियो ?

मज्जाले भयो । बाहिर निकाल्न माग भयो, राजीनामा माग भयो, धेरै कुरा भए । सचिव बैठक किन गर्छस् भनेर पनि सोधियो । सचिव बैठक गर्ने तेरो अधिकार हो ? कहाँ कुन कानुनले दिएको छ ? भनेर मन्त्रिपरिषद् बैठकमै सोधियो । सचिवहरूलाई निर्देशन दिँदा किन दिइस् ? भनियो । विकृतिका विरुद्ध मैले सचिवहरूलाई धेरै चेतावनी पत्रहरू दिएको छु ।

ती सचिवहरूले नै आफ्ना मन्त्रीहरूलाई तपाईंविरुद्ध उचाल्थे होलान् ?

होलान् । मन्त्रिपरिषद्मा त्यसको प्रतिविम्ब मजाले आउँथ्यो । मैले सचिवहरूलाई पत्र लेखेपछि आउने मन्त्रिपरिषद्मा त्यसको प्रतिविम्ब आइहाल्थ्यो । त्यसले मलाई राम्रो बन्न सघायो  । मैले कहीँकतै गल्ती गरें भने मलाई कसैले पनि बाँकी राख्दैन भन्ने ठानेर मलाई अझ धेरै व्यावसायिक ढंगले स्वाभिमानपूर्वक राष्ट्रको हितमा काम गर्न सघायो । व्यक्तिगत स्वार्थ छाड्न त्यसैले उत्प्रेरणा दिन्थ्यो ।

तीन जना भिन्नाभिन्नै पृष्ठभूमिका प्रधानमन्त्री (बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइराला)सँग काम गर्नुभयो, कस्तो रह्यो तपाईंको अनुभव ?

मुख्यसचिवले कुनै पनि प्रधानमन्त्रीबीच तुलना गर्ने कुरा अनैतिक हो, पदीय मर्यादा विपरीतको हो । तर, उहाँहरू सबैको चासो र चिन्ता यो मुलुक समृद्ध बनोस्, संक्रमणकाल छोटियोस् र अस्थिरता कम होस् भन्ने मैले पाँए । त्यसमा समानता छ ।

केही पनि फरक थिएन त तीन जनाबीच ?

उहाँहरूको पदीय सीमा थिए, त्यसलाई बुझिदिनुपर्छ भन्ने मलाई लाग्छ ।

बाबुराम भट्टराईका बारेमा ?

उहाँको सीमा के थियो भने उहाँ सशस्त्र द्वन्द्वबाट आउनुभएको थियो । उहाँका कार्यकर्ताको ठूलो पंक्ति वैधानिक प्रक्रियाबाट नआएका कारणले विधि विधानको सीमाभन्दा फरक ढंगले जानका लागि उहाँमाथि तीव्र दबाब हुन्थ्यो । वैधानिक सीमाभन्दा बाहिर नजानका लागि हामीले रोक्नुपथ्र्यो । उहाँको त्यो बाध्यता र सीमा हामीले बुझिदिनुपथ्र्यो । तथापि, उहाँमा देश निर्माण गर्ने अथाह ऊर्जा थियो । विचारको दृष्टिले उहाँसँग भएको क्षमता कुनै कुनै बेला विलक्षण लाग्थ्यो ।

खिलराज रेग्मीका बारेमा ?

उहाँ फरक पृष्ठभूमिबाट फरक कामका लागि आउनुभएको थियो । उहाँको सीमा कार्यकारी अनुभवको एकदमै कमी थियो । उहाँ अदालती प्रक्रियाबाट आउनुभएको कारणले गर्दा अदालती वा कानुनका जटिल प्रक्रियाका भित्र प्रशासनिक निर्णयहरू लिन खोज्नुहुन्थ्यो । त्यसरी प्रशासन चल्दैनथ्यो । फेरि हामी त्यो बेला त्यस्तो संक्रमणकालमा थियौं, जुनबेला छिटोछिटो निणर्यहरू गनुपथ्र्यो । दलीय व्यवस्थामा दलहरू सरकार बाहिर थिए । संविधान सुषुप्त अवस्थामा थियो ।

मुलुक पूरै द्वन्द्वमा थियो । निजामती सेवाभित्रै पनि १८ हजार कर्मचारी २४ घ १ अनुसार बढुवा भएर पद नपाएको कारणले आक्रोशित थिए । उनीहरू कुनै पनि बेला सरकारमा आगो बाल्न सलाई कोरेर बसेको अवस्था थियो, त्यो बेलामा कानुनका व्याख्या र अदालती ढंगले चल्ने उहाँको अभ्यस्तता थियो । उहाँको त्यो सीमामा रहेर पनि काम गरियो ।

प्रधानमन्त्री सुशील कोइरालाका बारेमा के टिप्पणी छ ?

लामो अस्थिरताको निरन्तरताका स्वरूप अहिलेका प्रधानमन्त्री सरकारमा आउनुभएको हो । मान्छेले दुई तिहाइ बहुमत भन्छन् तर सरकारमा साझेदार अर्को दल उहाँ जत्तिकै संगठित र बलियो छ । विभिन्न दलहरूभित्र भएका गुटहरूलाई पनि लुकाइरहनु पर्दैन । यस्तो अवस्थामा सन्तुलन मिलाउनुपर्नेछ । उहाँ धेरै लामो प्रजातान्त्रिक आन्दोलनबाट आएको व्यक्ति भएको नाताले कतिपय अवस्थामा तत्कालै विशेष निर्णय गर्नुपर्दा अप्ठ्यारो पर्छ ।

अहिले पनि मुख्यसचिव हुनुहुन्छ, नराम्रो पक्ष त भन्न मिल्दैन होला, कुन मन्त्रीसँग काम गर्न सजिलो भयो ? नाम लिन मिल्छ ?

कसैको व्यक्तिगत कुरा गर्नु राम्रो हुँदैन होला । जसले मलाई मुख्यसचिवका रूपमा गर्न खोजेका सुधारका काम गर्न सघाउनुभयो, उत्साह दिनुभयो उहाँहरू सबैलाई धन्यवाद छ । जसले विरोध र आलेचना गर्नुभयो, उहाँहरूलाई त्योभन्दा धेरै धन्यवाद छ । उहाँहरूले आलोचना र विरोध नगरेको भए, यसरी आफ्नो विषयवस्तुप्रति यति धेरै तयारीका साथ प्रस्तुत हुने थिइँन ।

तपाईंस“गको प्रतिस्पर्धामा मुख्यसचिव बन्न नसकेर राजीनामा दिएकाहरू पछि मन्त्री बनेर आउनुभयो, कसरी काम गर्नुभयो ?

म तपाईंलाई त्यसबेलाको एउटा गोप्य कुरा भन्छु, । जुनबेला मन्त्रीमण्डलको घोषणा भयो, त्यसदिन म चाहि“ राजीनामा दिने मुडमा थिए“ । पत्रपत्रिकाले लेखे, मैले होइन भनेर प्रतिवाद पनि गरें । तर, म राजनीनामा दिने मुडमा थिए“ । म एकदमै भावुक पनि भए“ । तत्कालीन मन्त्रिपरिषद्को अध्यक्षज्यूकोमा गएर शपथ ग्रहणपछि म छाड्दै छु भनें । उहा“ एकदमै गम्भीर भएर ‘यो मुलुकलाई निकास दिने हो, संकटमा परेको बेला मुलुकलाई झन् संकटमा धकेल्ने काम एउटा जिम्मेवार नागरिकले गर्न सक्दैन, तपाईं व्यावसायिक र क्षमतावान् हुनुहुन्छ भन्ने ठानेरै मैले यो जिम्मेवारी स्वीकारेको हु“ ।

राजीनामाको कुरै नगर्नुस्, तपाईंको भावना म बुझ्छु, तपाईंको भावनामा चोट पर्न दिन्न’ भन्नुभयो । मैले एउटा अभिभावक जस्तो ठानेर ती कुरा ग्रहण गरें । हुन पनि मुलुकलाई संकट परेका बेला मैले त्यो गर्नु भनेको संकटबाट भाग्नु हुन्थ्यो । त्यो पनि केका लागि भन्दा व्यक्तिगत इगोका लागि । उहा“ले त्यति भनेपछि राजीनामा दिने विचार त्यही“ छाडेर काम गर्न थालें । आफ्नो पदीय हिसाबले मैले मेरो काम गरें । उहा“हरूले उहा“हरूको काम गर्नुभयो ।

त्यो प्रतिस्पर्धा कतै न कतै प्रतिविम्बित भयो कि भएन क्याबिनेटमा ?

म त तल थिए“, मैले प्रतिस्पर्धा गर्ने कुरै भएन । उहा“हरूको मनमा भावना आएको थाहा पाइन“ । कतिपय अवस्थामा मैले गरेका कुराहरू उहा“हरूलाई चित्त बुझ्दैनथ्यो, बहस हुन्थ्यो । कहिलेकाही“ ठीक उल्टा विषयमा पनि धेरै तर्क वितर्क हुन्थे  ।

अब के गर्ने योजना बनाउ“दै हुनुहुन्छ ?

अहिलेसम्म मुख्यसचिवकै भूमिका निर्वाह गरिरहेको हुनाले आजको वा भोलिको काम कसरी प्रभावकारी रूपले गर्ने भन्ने नै छ । भावी दिन कसरी बिताउने भन्नेबारे अहिलेसम्म केही पनि योजना बनाएको छैन ।

बाग्मती सफाइको अभियान चलाउनुभएको थियो, अब त्यसको के हुन्छ ?

एउटा प्रमुख अभियन्ताको रूपमा मेरो संलग्नता निरन्तर रहन्छ । मैले जसलाई हस्तान्तरण गर्छु उहा“लाई पनि निरन्तर गर्नुस् भन्ने मेरो आग्रह रहन्छ ।

तपाईं राजनीतिमा आउने सम्भावना कत्तिको छ ?

शून्य सम्भावना छ भन्दिन । आजको दिनमा राजनीतिमा जाने गरी मनस्थिति बनाएको छैन । तर, मुलुकको आमूल परिवर्तन राजनीतिबाहेक अन्यत्रबाट सम्भव छैन । कर्मचारीहरूको असाध्यै धेरै साना सीमाहरू हुन्छन् । किनभने, यो अधिनस्थ प्रणाली हो । मुलुकको रूपान्तरण चाहने हो भने राजनीतिको विकल्प छैन । त्यो राजनीतिलाई सघाउने पनि हुनसक्ला अथवा आफैं सक्रिय भएर त्यसमा लाग्ने पनि हुन सक्ला ।

यदि मैले मुलुक रुपान्तरणको सपना देख्छु भने कि मैले कोही राजनीति गर्ने मान्छेलाई सघाउनुपर्ने हुन्छ कि म आफैंले राजनीति गर्नुपर्ने हुन्छ । धेरै मान्छेले दलका आग्रह पूर्वाग्रहका कुरा गरे । तर, आजका दिनसम्म म कुनै पनि दलस“ग आबद्ध छैन । म भोट हाल्छु तर कुनै विचार वा दृष्टिकोणसग नजिक छैन । जुनसुकै निजामतीको पदको कुर्सीमा बसेको बेलामा दलको टोपी झिकेरै बसेको छु ।

अब त्यो टोपी लगाउनहुन्छ ?

अहिले त त्यसबारे केही निर्णय गरेको छैन । तत्कालै सम्भावना पनि देख्दिन। किनभने, मैले अहिलेसम्म कुनै योजना बनाएको छैन, बिनायोजना काम होला जस्तो लाग्दैन । तर, फेरि भन्छु, यो शून्य सम्भावना भएको कुरा चाहि होइन ।

तपाईंका उत्तराधिकारीको पनि चलखेल सुनि“दैछ, के हुन्छ अवस्था ?

मैले कानुनी हिसाबले वैध उत्तराधिकारीहरूलाई मेरै कार्यकक्षमा बोलाएर सामूहिक रूपमा एकअर्काका बारेमा नकारात्मक प्रचार नगर्नुस्, अनावश्यक सौदा गर्दै नहिड्नुस्, राजनीतिक दलप्रतिको आबद्धता प्रमाणित गर्न नखोज्नुस्, त्यही गर्दा मात्र पदीय न्याय हुन्छ भनेको छु ।

तपाईंलाई बीचैमा मुख्यसचिवबाट हटाउन पनि कोसिस भएको थियो नि ?

विगतमा मलाई मुख्यसचिवको पद छाड्नका लागि प्रस्ताव आएका थिए । राजदूत बनाउनेदेखि २६ जनाभित्र मनोनयन गर्ने कुरा पनि गरियो । त्यतिखेर मैले लोभ गरेको भए उहाहरूका हातमा यो मुख्यसचिवको पद आउदैनथ्यो । कुनै बेला घोक्राएर निकाल्छुसम्म भनियो । सत्तारुढ दलसग नजिक भनिएका सचिवहरूले धोक्राएर निकाल्ने भनेपछि एक किसिमले पद थ्रेटमै थियो ।

ती कुरा सुनाउदा मैले त्यसलाई किञ्चित लिइन । अहिले मैले मुख्यसचिवका दुवै दाबेदारलाई के भनेको छु भने मैले लोभ गरेको भए वा म डराएको भए मुख्यसचिव पद तपाईंहरूको हातमा आउ“दैनथ्यो । त्यो मेरो हातमा थियो । तपार्इंहरूले संयोगले पद पाँउदै हुनुहुन्छ । त्यसैले त्यस पदप्रति न्याय गर्नुहोला । (बुधबार साप्ताहिकबाट)