नेपलिज वुमन एसोसिएसन यूकेद्वारा बाढीपीडितलाई रु.४ लाख ३८ हजारको चेक हस्तान्तरण, बार्कलेज बैंकले थप्ने

लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले भोटेकोशी बाढीपीडितको सहयोगार्थ २ हजार ३२५ पाउन्ड (करिब ४ लाख ३८ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ। एसोसिएसनले च्यारिटी लन्च तथा व्यक्तिगत चन्दाबाट संकलन गरेको उक्त रकम नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो।
शनिबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित ‘कफी मर्निङ’ कार्यक्रममा एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले कार्यवाहक राजदूत विपिन दुवाडीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिन्।
उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ।
कार्यवाहक राजदूत दुवाडीले विपत्तिपछि नेपालप्रति बेलायतका प्रधानमन्त्री, मन्त्री, सभामुखदेखि सर्वसाधारण बेलायती नागरिकसम्मले स्वतःस्फूर्त रूपमा देखाएको ऐक्यबद्धता र सहयोग प्रशंसनीय रहेको बताए। उनले विपत्तिमा परेका नेपालीलाई सहयोग गरेकोमा एसोसिएसनप्रति कृतज्ञता व्यक्त गरे।

दुवाडीले गत अगस्टको अन्तिम साता आएको बाढीबाट मुख्यगरी रसुवासहित चार जिल्ला प्रभावित भएको उल्लेख गर्दै पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए। उक्त रकम जुटाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा निकायहरूसँग समन्वय गरिरहेको पनि उनले बताए।
कार्यक्रममा एसोसिएसनकी संरक्षक माया सुवेदीले स्वागत मन्तव्य दिँदै संस्थाले सञ्चालन गरेका च्यारिटी तथा सामाजिक गतिविधिबारे जानकारी गराइन्। उनले भोटेकोशी बाढीपीडितका लागि प्रदान गरिएको सहयोग रकम ठूलो नभए पनि यसले पीडितप्रतिको माया, ऐक्यबद्धता र मातृभूमिप्रतिको जिम्मेवारी झल्काउने बताइन्।

चेक हस्तान्तरण कार्यक्रममा सोलिसिटर राजु थापा, लन्डन बरो अफ इलिङका पूर्वमेयर एवं हालका काउन्सिलर रञ्जित धीर, पूर्वमेयरद्वय साइमन उडरोफ र भ्यालरी उडरोफ, यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी ध्रुव केसी, क्याप्टेन आर.एस. श्रेष्ठ, एसोसिएसनकी उपाध्यक्ष पुनम गुरुङ, सचिव प्रसुना कँडेल, अमिका क्षेत्री, पूजा श्रेष्ठ तथा सञ्चारकर्मी नवीन पोखरेल र शिव भण्डारीलगायत सहभागी थिए।

एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले सहयोगदाता सबैप्रति आभार व्यक्त गर्दै आफूहरूले हस्तान्तरण गरेको रकम बराबरकै रकम बार्कलेज बैंकले समेत थपिदिने प्रतिबद्धता जनाएको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *