फिफा अध्यक्ष ब्लाटरलाई नोबेल पुरस्कार दिन पुटिनको माग

काठमाडौं, श्रावण १२ । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटरलाई नोबेल पुरस्कार दिन माग गरेका छन् ।

स्वीट्जरल्यान्डको एक टेलिभिजनसँग कुरा गर्दै पुटिनले विश्व खेलकुदमा उच्च पदस्थ व्यक्तित्वहरुलाई विशेष सम्मान दिनुपर्ने भन्दै ब्लाटर नोबेल पुरस्कारको असली हकदार भएको तर्क गरे ।

ब्लाटर हाल कठिन समयबाट गुज्रिरहेको बताउँदै पुटिनले विश्व फुटबलमा सार्वजनिक भएका भ्रष्टाचार कान्डमा ब्लाटरको संलग्नताबारे आफूलाई एक शब्द पनि विश्वास नरहेको बताए ।

फिफाका दर्जन बढी उच्च–पदस्थ अधिकारीमाथि अमेरिकामा छानबिन चलिरहेका बेला रुसी राष्ट्रपति पुटिन भने ब्लाटरको कट्टर समर्थकको रुपमा देखिँदै आएका छन् ।

सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता पूर्वविश्वमा फरक शक्ति र परिचय बनाएका यी दुई शक्ति केन्द्रबीच निकै गहिरो तालमेल देखिएको छ ।

रुसलाई विश्वकप फुटबल आयोजना गर्न दिने निर्णयमा पनि आर्थिक चलखेल र अनियमिमता भएको आरोप केही राष्ट्रले लगाउँदै आएका छन् । (एजेन्सी)