लन्डन। बेलायतस्थित बर्न्टओक नेपाली समाजले नेपालमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरोबाट प्रभावित पीडितहरूको सहयोगार्थ १० हजार ७० पाउन्ड (२० लाख नेपाली रुपैयाँभन्दा बढी) पठाएको छ।
बडादसैँ तथा शुभ दीपावली (तिहार) को अवसरमा शनिबार लन्डनको एजवेयरस्थित टेरिटोरियल आर्मी भवनमा आयोजित विशेष समारोहमा समाजका अध्यक्ष खमिरजंग गुरुङले उक्त जानकारी दिएका हुन्।
अध्यक्ष गुरुङका अनुसार समाजले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकिएको छ। उनले मानवीय सेवाको अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष मुरारी थापाले दसैँ प्रेम, एकता, आशीर्वाद र सद्भावको पर्व भएको बताए।
उनले भने, ‘हामी आफ्नो मातृभूमि नेपालबाट धेरै टाढा रहे पनि यस्ता चाडपर्वहरूले हामीलाई हाम्रा जरासँग नजिक ल्याउँछन्। हाम्रो समृद्ध संस्कृति, परम्परा, भाषा तथा पहिचानलाई भावी पुस्ताका लागि जोगाइराख्न मद्दत गर्छन्।’
उनले एकअर्कालाई सहयोग र सम्मान गर्दै अझ बलियो, सुखी तथा एकताबद्ध समुदाय निर्माणका लागि मिलेर काम गर्न आग्रह गरे।
समारोहमा हेन्डन क्षेत्रका सांसद डेभिड पिन्टो-डसचिन्स्कीले दसैँ असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै बेलायतमा नेपाली समुदायले पुर्याएको योगदान र एकताको प्रशंसा गरे। उनले आगामी दिनमा नेपाली समुदायसँग निकट रहेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्यसैगरी, बार्नेट काउन्सिलका उपमेयर काउन्सिलर हुमायुँ खालिकले बार्नेटसहित समग्र बेलायतमा बर्न्टओक नेपाली समाजले पुर्याएको योगदानको सराहना गर्दै नेपालका बाढीपहिरो पीडितहरूप्रति सहानुभूति व्यक्त गरे।
लेफ्टिनेन्ट कर्नल (अवकाशप्राप्त) मार्टिन रसेलले नेपाली परम्पराको संरक्षणसँगै बृहत् समुदायको सेवामा समाजले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृति सिकाउनुपर्नेमा जोड दिँदै नेपाली समुदायलाई एकताबद्ध बनाउन बर्न्टओक नेपाली समाजले खेलेको भूमिकाको सराहना गरे।
वृत्तचित्र प्रदर्शनसँगै विभिन्न व्यक्तित्वलाई सम्मान
कार्यक्रममा ‘गोर्खा बाइ रुट्स: अ बर्न्ट ओक स्टोरी’ नामक वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। सो अवसरमा समाजका अध्यक्ष गुरुङले वृत्तचित्रकी निर्माता दिव्या सत्कानीलाई सम्मान गरे।
त्यस्तै, वर्ल्ड युनियन अफ मार्सल आर्ट्स फेडरेसनद्वारा बेलायतमा आयोजित चौथो विश्व च्याम्पियनसिपमा विभिन्न विधामा रजत पदक जित्न सफल इन्जिनियर ज्ञानेन्द्र क्षेत्री र उनका छोरा एड्रियन क्षेत्रीलाई विशेष सम्मान गरिएको थियो।
समुदायमा पुर्याएको निःस्वार्थ सेवाको कदर गर्दै वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण कार्की र वरिष्ठ नर्स सुष्मा गुरुङलाई ‘उत्कृष्ट समुदाय सेवा पुरस्कार’ प्रदान गरियो।
सोही अवसरमा अध्यक्ष गुरुङले समाजका नयाँ सदस्यहरूलाई स्वागत गर्दै सदस्यता प्रमाणपत्रसमेत वितरण गरेका थिए।
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू उदय गुरुङ, पूर्वउपमेयर तथा काउन्सिलर लक्ष गुरुङ, विष्णु गुरुङ, काउन्सिलर कमल गुरुङलगायतको उपस्थिति थियो।
समारोहको पहिलो चरण समाजकी महासचिव हेलिशा गुरुङले सञ्चालन गरेकी थिइन् भने सांस्कृतिक कार्यक्रमको सञ्चालन सांस्कृतिक सचिव उमेश खड्काले गरेका थिए। सांस्कृतिक कार्यक्रमको संयोजन संगीतकार केयरजंग गुरुङले गरेका थिए।






