लन्डन — नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) यूके शाखाको नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको अध्यक्षमा न्यूसन श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उहाँको नेतृत्वमा नयाँ टिम गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा गौचन गुरुङ, कोषाध्यक्षमा पूजा गुरुङ, सचिवहरूमा दीक्षान्त श्रेष्ठ र आयुष गुरुङ, तथा सोसल मिडिया/कम्युनिकेशन म्यानेजरमा सुदीप राई र अनिल फुयाँल चयन हुनुभएको छ।
त्यसैगरी, प्रमुख सल्लाहकारहरूमा संस्थाका पूर्वअध्यक्षद्वय उदीप राई र इन्दु राई रहनुभएको छ भने कार्यकारी सदस्यमा सुमन वैद्य निर्वाचित हुनुभएको जानकारी दिइएको छ।
नेपाल इन्जिनियर्स एसोसिएसन एक स्वतन्त्र तथा गैर–नाफामूलक संस्था हो, जसले विश्वभर रहेका नेपाली इन्जिनियरहरूबीच व्यावसायिक सम्बन्ध, सहकार्य र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यसको स्थापना नेपालमा सन् १९६२ मा भएको थियो भने बेलायत शाखा सन् २०१७ मा स्थापना गरिएको हो।
संस्थाले अन्तर्राष्ट्रिय इन्जिनियरिङ संघसंस्थाहरूसँग सहकार्य, फेलोसीप तथा सद्भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।






