काठमाडौं- बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर सिंहदरवारमा सम्मानित भएका छन् ।
नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी छन् । सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई ज्ञापन गरिन् । ‘नेपालीका लागि तपाईं एउटा गौरव हो,’ उनले भनिन्, ‘बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको छु ।’
उपसभामुखले सम्मान गर्दा प्रतिनिधि सभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की लगायतका अधिकारीहरूको उपस्थिति थियो ।
मेयर मगरले जनप्रतिनिधिकारूपमा आफूले गरिरहेको कामबारे अनुभव साटासाट गरेका थिए ।
पाल्पाको चिदिपानी चन्द्रवन (हाल) माथागढी गाउँपालिका–१ मा जन्मेका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका थिए । झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष समेत हुन् । उनी रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रुपमा सेवा निवृत भएका थिए।
बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइ रहेका सारु सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन् ।






