लन्डन।लन्डनमा इन्द्र जात्राको व्यापक तयारी गरिएको छ ।पासा पुच गुथि यूकेको आयोजनामा भोलि १६ अगष्ट शनिबार मध्यानह १२ देखि सांझ ७ बजेसम्म इन्द्र जात्रा गर्न लागिएको हो ।नेपालको संस्कृतिबाट सिकेर लन्डनमा आफ्नै शैलीको फयूजनसहित जात्रा गरिने आयोजकले जनाएका छन् ।
पासा पुच गुथि लन्डन च्याप्टर र ओजेश सिंहले जात्राको संयोजन गरेका छन् । जात्रा व्यापक बनाउन गुथिका सबै ६ वटा यूके च्याप्टरको बिशाल तयारी छ।
पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टी अध्यक्ष सुशील प्रजापतिले बेलायतमै मौलिक जात्राको रुपमा विकास गर्ने उद्देश्यसहित जात्रा गर्न लागिएको लण्डन नेपाल न्युज लाइ बताउदै नेपाल, युरोप, अमेरिकाबाट पनि अतिथीहरु सहभागी हुने जात्रामा सहभागी भइदिन अपिल गरेका छन् ।
उनले सन् २००० मा गुथि स्थापना भएपछि यूकेमा म्ह पूजा, गुथि भ्वय, गुथि पूजा, वृहत नेवा मुना, योमरी पुन्ही, गुथि सेमिनार, लन्डन खः जात्रा, लन्डन बिस्का जात्रा लगायत विभिन्न सांस्कृतिक गतिविधि भइरहंदा पहिलो पटक लन्डन इन्द्र जात्रा थपिएको बताए ।
बेलायतमै जन्मे हुर्किएका दोश्रो पुस्तालाई नेवा कला संस्कृति र मातृभूमि नेपालसंग जोड्ने माध्यमका रुपमा यसलाई लिइएको पनि प्रजापतिले बताए ।
इन्द्र जात्रामा कुमारी, भैरव र गणेशको रथ तानिने एवं ति तीन रथहरुमा जिवित देवी कुमारी र देवताहरु गणेश र भैरवलाई पनि विधिपूर्वक प्रतिस्थापन गरि परिक्रमा गरिने कार्यक्रम रहेको छ । रथ बनाउने र तान्ने शैली नेपालकै जस्तो हुनेछ ।
सो अवसरमा धिमे, ढा, खिं, बांसुरी लगायत कयौं बाजा पनि प्रस्तुत गरिनेछ । गुथिका विभिन्न च्याप्टरमा विगत ९ महिनादेखि धिमे बाजा प्रशिक्षण भइरहेको छ ।
कयौं लाखे नाच, कुमारी नाच, मन्जुश्री नाच, भैरवगण नाच, हुलां प्याखः, धिमे प्याखः आदि प्रस्तुत गरिने आयोजकले जनाएका छन् । सो अवसरमा व्यापारिक र खानाका करिब दुई दर्जन स्टल, फेस पेन्टिंग, च्यारिटीका स्टल आदि पनि रहने आयोजकले जनाए ।
जात्रा संयोजक एवं गुथिका पूर्व अध्यक्ष तथा हाल संरक्षक ओजेश सिंहले २५ औं वार्षिकोत्सवको अवसरमा लन्डन इन्द्र बिशाल जात्रा हुन् लागेको बताए ।
गुथि स्थापनाको २५ औं वर्ष गांठ मनाउन हालसम्मका गतिविधि समेटिएको फोटो प्रदर्शनी समेत गरिने सिंहले बताए। नेपालको जात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने आफूहरुको प्रयासमा साथ दिन पनि उनले आग्रह गरे ।
नेवा कला संस्कृति, परम्परा सिकुन् भनेर जात्रामा दोश्रो पुस्तालाई नै बढी सहभागी गराउने सोच आयोजकको छ । नेपालमा हेर्न नभ्याइएका कला संस्कृति समेत यहां हेर्न पाइने गुथिको दावी छ ।
लन्डन इन्द्र जात्राले एउटा जात जातीको मात्र होइन, साउथ इष्ट एसिया क्षेत्रकै प्रतिनिधित्व गर्ने उल्लेख गराउंदै सिंहले गैर नेपालीलाई पनि नेपाल चिनाउने अवसरका रुपमा जात्रालाई लिइएको बताए ।
गुथिको बोर्ड अफ ट्रष्टी महासचिव प्रजेश श्रेष्ठले अनलाइन र प्रत्यक्ष टिकट उपलब्ध रहेको बताए ।
मिडिया कोअर्डिनेटर एवं लन्डन च्याप्टरकी कल्चरल सेक्रेटरी आस्था जोशी बटाजुले नेपाली कला संस्कृति झल्काउने आफूहरुको प्रयास भएको बताउंदै जात्रामा उपस्थित भइदिन सबै लाई अनुरोध गरेकी छन् ।
पासा पुच गुथि यूकेले सपुर्ण नेपालीलाई इन्द्र जात्रामा सहभागी भइदिन निमन्त्रणा गरेका छन् ।






