मगर संघ यूकेले झाँकी प्रदर्शन गर्दै भब्य रुपले मनायो ४३ औं मगर दिवस

लन्डन । बेलायतमा ४३ औं मगर दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

मगर संघ यूकेको आयोजनामा शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर दिवस सम्पन्न भएको हो । कार्यक्रम संघ अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका संस्थापक स्वर्गीय हेमबहादुर पुन मगर, प्रथम सहिद लखन थापा मगर र पूर्वमन्त्री स्व.गोरेबहादुर खपाङ्गी मगरको तस्बिरमा माल्यार्पण गरिएको थियो भने उनै पुन मगर, थापा मगर, खपाङ्गी मगर र बम कुमारी बुढ़ा मगरको जीवनी वाचन गरिएको थियो  ।

विशेष अतिथिको रुपमा नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुनमगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर थिए । यस्तै अन्य अतिथिहरूमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राई, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बोम सूर्यवंशी थापामगर, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु पे ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेम बहादुर गुरुङ, तमु धिं युके आमा समुहका अध्यक्ष कमला गुरुङ, किरात राई यायोक्खा युकेका अध्यक्ष आसा राई, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका उपाध्यक्ष चुमया थजाली मगर, नेपाल मगर संघ केन्द्रिय सह कोषाध्यक्ष क्याप्टेन निल बहादुर थापा मगर, लम्जुङ समाज युकेका अध्यक्ष दल बहादुर गुरुङलगायत बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

४३ सौं मगर दिवसका अवसरमा मगर संघ यूकेका शाखाका अध्यक्षहरु, विभिन्न संघ संस्थाका अगुवाहरु, आमन्त्रित पत्रकारहरुलगायत मास्टर डिग्री उतिर्ण गरेका मगर विध्यार्थिहरु र समाजमा राम्रा छवी बनाएका मगरहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, संरक्षक, पूर्व अध्यक्षहरू, ट्रष्टिहरू, शाखाका अध्यक्षहरूलगायत सम्पूर्ण आमन्त्रित पाहुनाहरूको वाहुलीबाट मगर संघ युकेको मुखपत्र कानुन लांघा र मगर इतिहाँसबिद बम कुमारी बुढा मगरद्वारा लिखित “मौला ल घोन” पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रममा मगर संघ यूकेका शाखाहरु लन्डन, रेडिङ, वेम्बली, केन्ट, यूएचएसबी, स्वीइडन, वेल्स, प्लमस्टिड, वेस्ट लन्डन, क्याट्रिकलगायतबाट मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यस्तै पुनमगर समाज यूके, खामभाषी समाज यूके, मगर बुद्धिस्ट सोसाइटी, मगर महिला संघ, मगर आर्चरी एसोसिएसन यूकेले पनि झाँकी प्रस्तुत गरेका थिए भने मगर संघ केन्द्रले हुर्रा नृत्यु देखाएको थियो । त्यस्तै मगर युवा र एएसएसबी युथले मगर फेसन शो गरेका थिए ।

मगर महिलाको नेतृत्वमा राफल ड्र खेलाइएको थियो भने सांस्कृतिक सचिव तेन्याङ राना (सरु) र सहसचिब नुनु पाइजा मगरको नेतृत्वमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम भएको थियो। नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु देवी आलेमगर र प्रसाद खप्तरी मगरले मञ्च तताएका थिए ।

‍औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष सीता पुनमगर कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्ण अतिथिहरु, कार्यसमितिका सबैजनालाई आभार र तयारीमा जुटेका कार्यसमिति, शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने ४३ सौं मगर दिवसको शुभउपलक्षमा प्रमुख अतिथि ज्ञानेन्द्र पुन मगर, विशेष अतिथि झुपलाल पुन मगर, अतिथिहरु प्रेम गाहा मगर, क्याप्टेन योगेश राई, बिमला सेने, लोक राना मगर, नेत्र राना मगर र चुमया थजाली मगरले शुभकामना मन्तब्य दिएका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुन मगरले अध्यक्षता गरेको कार्यक्रममा कार्यक्रम संयोजक तथा संघकी उपाध्यक्ष निर्मला थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिब गुमानसिङ थापा मगर र सचिब गोमान पुन मगरले संचालन गरेका थिए।