सिड्नी । साउथ वेस्ट नेपलिज कम्युनिटी सिड्नीले हरितालिको तीजको अवसर पारेर भव्य तीज मेला कार्यक्रम गर्ने भएको छ । ३१ अगष्ट शनिवार अष्टलमा रहेको राधाकृष्ण मन्दिरमा तीज मेला सहित अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेलले जानकारी दिए । दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका प्रिति आले मगरको बेजोड तीज विशेष प्रस्तुती रहनेछ ।
कार्यक्रममा एनएसडब्ल्यूका महावाणिज्यदूत सञ्चिव शर्माको प्रमुख आतिथ्यता रहनेछ । लिभरपूल, क्याम्डेन र क्याम्पबेलटाउन तीन वटै काउन्सिलका मेयरहरु, एनआरएनए अध्यक्ष अनिल अधिकारी सहितका पदाधिकारीहरुको समेत उपस्थिति रहने कम्युनिटीले जनाएको छ । साउथवेष्टमा छरिएर रहेका नेपालीहरुलाई एककृत गर्दै यसलाई प्रत्येक वर्ष तीज मेलाको रुपमा विकास गर्दै लैजाने उद्धेश्य सहित बृहत रुपमा कार्यक्रम आयोजना गरिएको महासचिव प्रकाश पौडेलले जानकारी दिए । कार्यक्रम नजिकिँदै गर्दा सभ्य र भव्य रुपमा सफल सम्पन्न गर्न तयारी स्वरुप विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ । जसमध्ये मेलाको संयोजन प्रेम शाहले गरेका छन् । त्यस्तै मञ्च व्यवस्थापनमा चन्दना पौडेल, ट्राफिक तथा सरसफाई व्यवस्थापनमा चन्द्र ढकाल र स्वयंसेवक परिचालन समितिमा बाबुराम गौतम लगायत रहेका छन् राम न्यौपाने र उषा किरण बरियाले कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रममा सहभागी हुन र सक्दो सहयोग गर्न समेत कम्युनिटीले साउथ वेष्ट क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको छ । तीज मेलालाई अजि होम लोनले मुख्य प्रायोजन गरेको छ भने ईन्फिनिटी केयर, अनेष्ट टिम, कालापानी रेष्टुरेण्ट, हंग्री शेर्पा लगायत अन्य संस्थाहरुले सह-प्रायोजन गरेका छन् ।






