सिड्नीमा माघे संक्रान्ति मेला हुँदै

सिड्नी । माघे सक्रांन्तिको अवसरमा अस्ट्रेलियाको सिड्नीमा माघे संक्रान्ति मेला २०२४ हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मगर समाज अस्ट्रेलियाले २० जनवरी शनिवार गो व्हीटल्याम पार्कमा विशेष कार्यक्रम सहित मेलाको आयोजना गरेको छ ।

समाजका लुकेश राम्जली  मगरले समाजले गत वर्षहरुमा जस्तै यसवर्ष पनि सास्कृतिक, मनोरञ्जनात्मक एवम् खेलकुद कार्यक्रमका साथमा माघे संक्रान्ति मनाउन लागिएको जानकारी दिए । कार्यक्रममा मगर जातिका भेषभूषा र संस्कृती झल्किनेगरी मौलिक नृत्य, बालबालिकाहरुको नृत्य, स्थानीय ब्याण्ड, लिग लिग दौड, मौलिक खानाका परिकारहरु सहित लाईभ दोहोरी लगायतका कार्यक्रम रहने उनले बताए । कार्यक्रममा नेपाल आईडल सिजन ४ का विजेता गायक भुप्रेन्द्र थापा मगर, भ्वाईस अफ नेपाल सिजन ३ का उपविजेता तारा श्रीस मगर, गायक गणेश गुरुङ र गायिका कोपिला मगर लगायतको बेजोड सांगितिक प्रस्तुती रहनेछ ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । कार्यक्रमलाई अस्ट्रेलिया स्थित दर्जनौँ व्यवसायिक संस्थाहरुले प्रायोजन गरेका छन् । कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन र मगर समुदायको संस्कृतीसंग साक्षात्कार हुन समेत अध्यक्ष मगरले सबैसंग अनुरोध गरेका छन् ।