लन्डन । सहारा यूकेले १३ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम गरेको छ। शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो । 
कार्यक्रममा अवार्ड वितरण, सांस्कृतिक प्रस्तुति र आर्थिक संकलन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतस्थित नेपाली युवा पुस्तालाई नेपालसंग जोड्न, खेलकुद विकास र च्यारिटी कार्यमा सहारा यूकेको निरन्तर सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
बेलायतका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्नेमा दूतावास सजग रहेको र यसमा सहारा यूकेले पनि काम गरिरहेकामा राजदूत आचार्यले प्रशंसा गरे ।

कार्यक्रमका सभापति तथा सहारा यूके अध्यक्ष ले. (रि.) कुसाङ गुरुङले सहारा यूकेले सन् २००८ मा स्थापना भएदेखि नै खेलकुद विकास र च्यारिटी कार्यमा निरन्तर काम गरिरहेको उल्लेख गरे ।
उनले अतिथीहरु, प्रायोजक, कलाकार लगायत सहयोगी सबैलाई धन्यवाद दिए ।
संस्थाका महासचिव मनोज गुरुङ र सूर्जे गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमका संयोजक एवम् उपाध्यक्ष क्रिश गुरुङले स्वागत मन्तव्य दिएपछि सहारा यूकेको गतिविधि सम्बन्धि वृत्तचित्र देखाइएको थियो।

सो अवसरमा नेपालबाट आएका गायक दीपक थापा र अभिषेक थापाले कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएका थिए ।
सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले पनि आफ्नो नृत्य कला देखाए ।न्यु लक्ष्मी ज्वलर्स प्रोपाइटर लक्ष्मी राईले १ तोला सुन प्रायोजन गरेकी थीइन् ।

कार्यक्रममा सहारा यूकेले लन्डनको ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट सहित गैर-आवासीय नेपाली संघका पदाधीकारी एबम कलाकार, सहयोगी,प्रायोजक, नयां सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
सहारा यूके अवार्ड वितरण
यसैबीच, सहारा यूकेले दुई व्यक्तित्वलाई ‘सहारा यूके अवार्ड’ र ‘सहारा यूके स्पेशल अवार्ड २०२३ प्रदान गरेको छ ।
सहारा यूके अवार्ड २०२३ अवार्डबाट गम गुरुङ र सहारा यूके स्पेसल अवार्डबाट शेरा गुरुङलाई सम्मान गरिएको हो।

सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको नाम घोषणा गर्दै उनीहरुको योगदानबारे जानकारी दिएका थिए ।
प्रमुख अतिथी राजदूत आचार्य र अध्यक्ष गुरुङले दोसल्लासहित अवार्ड प्रदान गरे ।
सहारा यूके सस्थापक अध्यक्ष नबिन गुरुङ,पूर्व अध्यक्ष कुमार गुरुङ,मीनबहादुर गुरुङ ‘साइला’,दिलिप गुरुङले कार्यक्रममा महत्व पूर्ण भूमिका निभएका थिए ।
सहारा यूके अध्यक्ष लेफ्टिनेन्ट रिटायर्ड कुसाङ गुरुङको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।


























