लन्डन – बेलायतको भ्रमणमा रहेका अर्थमंत्री डा प्रकाश शरण महतले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको भन्दै एनआरएन तथा ब्रिटिश लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका छन्।
सोमबार बेलुका लन्डनस्थित नेपाली दूतावासद्वारा आफ्नो सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मंत्री महतले नेपाल सरकारले लगानीको वातावरण बनाउन थुप्रै नीतिगत सुधारहरु गरेको बताए। ‘तपाईंहरुको कुनै पनि समस्या छ भने त्यसलाई सम्बोधन गर्न सरकार तयार छ,” उनले भने। उनले जलविद्युत लगायतका क्षेत्रमा नेपाल सरकारले दीर्घकालिन लगानीको खोजी गरिरहेको पनि बताए।
स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विश्वको प्रमुख वित्तीय केन्द्रका रूपमा लण्डनले नेपालको प्राथमिकतामा रहेका जलविद्युत क्षेत्रमा विश्वव्यापी पुँजी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
बेलायतसंगको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए । कार्यक्रममा राजदूत आचार्यले अर्थमन्त्री महतको बेलायत भ्रमणले नेपाल र बेलायतबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।
मंत्री महतले सोमबार नै सिटी अफ लन्डनका नवनिर्वाचित लर्ड मेयर प्रा माइकेल मैनेलीद्वारा आयोजित अन्तरक्रियामा ब्रिटिश लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेको नेपाली दूतावासले जनाएको छ। मंत्री महतले ब्रिटिश ट्रेजरी हेर्ने मंत्री ब्यरोनेस पेनसंग पनि भेट गरेका थिए।
उनले मंगलबार म्यन्सन हाउसमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ।
उक्त कार्यक्रम दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए 







