मेलबर्नमा नवाह ज्ञान महायज्ञ हुँदै १० हजार नेपालीले आफ्नै बहुसांस्कृतिक केन्द्रमा दशैं मनाउने

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत पर्ने मेलबर्नमा विजया दशमीको नवरात्रीभर नवाह ज्ञान महायज्ञ हुने भएको छ । अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी) को आयोजनामा आगामी अक्टोबर १५ देखि २४ तारिखसम्म नवाह ज्ञान महायज्ञ, भजन कृतन सहित झाँकी लगायतका कार्यक्रम हुनेछन् । प्रस्तावित नेपाली बहुसांस्कृतिक केन्द्रमा दशैँ पर्वलाई भव्य रुपमा मनाउनुका साथै वाचनप्रवीण पण्डित दिनबन्ध पोखरेलको प्रवचन सहित मेलवर्न सप्ताह भाग २ आयोजना गर्न लागिएको शनिबार एएनएमसीको परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

कार्यक्रममा बोल्दै एएनएमसीका अध्यक्ष गान्धीप्रसाद भट्टराईले विगतमा जस्तै निः शुल्क जमरा वितरणको कार्यक्रमलाई निरन्तरता दिइने र यस पटक दशमीका दिन मन्दिरमा नै टिका लगाउने व्यवस्था समेत गरिने जानकारी दिए । एएनएमसीका कोषाध्यक्ष एवम् मेलवर्न सप्ताहका संयोजक अनन्त पौडेलले भिक्टोरियामा बसोबास गर्ने सम्पूणर् नेपालीहरुलाई धार्मिक सहिष्णुता कायम राख्दै नेपालीहरुकै लागि निर्मित आफ्नै मन्दिरसम्म पुगेर दर्शन गराउनु समेत कार्यक्रमको उद्धेश्य रहेको बताए । पत्रकार सम्मेलनमा अनलाईन र प्रत्यक्ष रुपमा सहभागी भएका पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै सचिव डा. तिलक पोखरेलले १५ अक्टोबरमा कलश यात्राका साथ महायज्ञ सुरु हुने बताए । सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो २ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुनेछ ।

महायज्ञको समापन विजया दशमीको दिन अक्टोबर २४ मा टीका जमरा सहित गरिनेछ भने अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्रीका साथै अन्य अतिथिहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ । भिक्टोरिया राज्य सरकारको अनुदानमा हालै मन्दिर परिसरमा सार्वजनिक शौचालय निर्माण, कार्यक्रमहरु सञ्चालन गर्न स्टेज, सीसीटिभी क्यामेरा जडान लगायतका कामहरु सम्पन्न गरिएको थियो । केही समय अघि मन्दिरमा भगवान पशुपतिनाथ, गणेश र दुर्गा भवानीको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरिएको थियो । यस्तै भगवान गौतम बुद्धको मूर्ति स्थापना गरी यसलाई ध्यान केन्द्र समेत सञ्चालन गरिएको छ । करिब १ सय १५ रोपनी क्षेत्रफलमा फैलिएको बहुसांस्कृतिक केन्द्रको निर्माणमा भिक्टोरिया राज्य सरकारले गत वर्षमात्रै करिब ६ लाख अष्ट्रेलियन डलर अनुदान दिएको थियो ।

एएनएमसीले नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्र बनाउने उद्धेश्यको साथ उक्त गुरूयोजना अघि बढाइरहेको छ । हाल अस्थायी संरचना मार्फत पूजाआजाको काम चलिरहेको छ । पत्रकार सम्मेलनमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एएनएमसीका सहसचिव शैलेश घिमिरेले अष्ट्रेलियामै पहिलो पटक आफ्नै बहुसांस्कृतिक केन्द्र स्थापना गरी चाडवाड संयुक्त रुपमा मनाउन थाल्नु ऐतिहासिक उपलब्धी भएको र सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखेका थिए ।