लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वर्षेनी प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारको तेस्रो संस्करण आगामी महिना वितरण हुने भएको छ । जुलाई ९ तारिखमा अल्डरसटमा आयोजना हुने शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमको अवसरमा ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३’ प्रदान गरिने भएको हो।
यसैबीच, पुरस्कार सिफारिशका लागि शाखाले एक तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सांझ शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले डा बच्चुकैलाश कैनी संयोजक तथा नवीन पोखरेल र लक्ष्मी राई ‘लारा’ सदस्य रहेको पुरस्कार सिफारिश समिति गठन गरेको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । समितिका संयोजक डा कैनीसँग बेलायतको राष्ट्रिय स्वास्थ सेवा (एनएचस) व्यवस्थापन, राजनीति, साहित्य र प्राध्यापनमा लामो अनुभव छ। डाटफोर्डका पूर्व काउन्सिलर उनले विगतमा लेबर पार्टीबाट बेलायतको संसदीय निर्वाचन लडेका थिए ।
त्यस्तै, समितिका सदस्य पोखरेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितमा सक्रिय पत्रकार हुन् । कान्तिपुरका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपालीलिंकका प्रधान सम्पादक उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । उनले गत वर्ष एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए। पुरस्कार सिफारिश समितिकी अर्की सदस्य लक्ष्मी राई (लारा) को साहित्य र च्यारिटीमा लामो अनुभव छ । उनी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी पूर्व अध्यक्ष हुन् । महासचिव नरेन्द्र बस्नेतका अनुसार शाखाले पुरस्कारका लागि जुन मसान्तभित्र आवेदन तथा सिफारिशहरु संकलन गर्नेछ ।
संकलित आवेदनहरुमध्ये सिफारिश समितिको सिफारिशका आधारमा विजेता छनोट गरी पुरस्कार वितरण गरिनेछ। ५ सय दुई पाउण्ड नगदसहितको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार यसअघि सन् २०२१ मा श्रीभद्र खनाल तथा सन् २०२२ मा नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले शाखाले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको हो ।






