एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एमओयूमा हस्ताक्षर,(भिडियो सहित)

लन्डन ।बेलायतमा गैर आवासीय नेपालीको सम्पत्तिको स्वामित्व, उपभोग र अधिकारबारे एक अन्तरक्रिया गरिएको छ।बेलायत बस्ने गैर आवासीय नेपालीहरुलाई पर्ने सम्पत्ति सम्बन्धी कानूनी समस्याको प्रारम्भिक कानूनी परामर्श निशुल्क रुपमा दिन एसोसिएसनले सघाउने गरि सहमति भएको हो ।उक्त कार्यक्रममा एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो ।

एमओयूका परिकल्पनाकार एनआरएनए यूके उपाध्यक्ष डा. नारायण कंडेलले भूतपूर्व गोर्खा लगायत विदेशमा बसोबास गरिरहेका नेपालीको सम्पत्तिको सुरक्षा गर्न यो समझदारीमहत्वपूर्ण हुने बताए ।उनले यूकेमा बस्ने एनआरएनहरुलाई पर्ने सम्पत्ति सम्बन्धी कानूनी समस्याको प्रारम्भिक समाधान गर्न एसोसिएसनले सघाउने बताए।

प्रारम्भिक सल्लाह निशुल्करुपमा पाउने र त्यहाँ उपलब्ध गराएका जानकारीहरु गोप्य रहने कंडेलले बताए  ‘रवि लामिछानेको नागरिकता सम्बन्धी विवादले संसारभरि रहेका प्रवासी नेपालीलाई चिन्तित तुल्याएको छ । यो हाम्रा लागि चुनौतीको ठूलो घन्टी हो’- कंडेलले भने- ‘त्यसैले यो समझदारी गरिएको हो । उहाँहरुको चिन्ता हामी थोरै भए पनि कम गर्न चाहन्छौं ।’

 

गैर आवासीय नेपाली संघ आइसीसीका अध्यक्ष कुल आचार्यको उपस्थितिमा हस्ताक्षर गरिएको उक्त समझदारीपत्रको प्रस्तावकमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदी छन् ।

उक्त समझदारीपत्रमा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिलबाबु खड्का र नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले हस्ताक्षर गरेका छन्  ।साक्षीको रुपमा वरिष्ठ अधिवक्ता सुनिल कुमार पोख्रेल र डा. नारायण कंडेलको हस्ताक्षर छ ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले विदेशमा रहेका नेपालीको दोश्रो पुस्तालाई बचाउन नसके नेपालले ठूलो घाटा बेहोर्ने उल्लेख गर्दै उनीहरुलाई नेपाल आउने ढोका बन्द नगर्न आग्रह गरे ।

‘विदेशबाट सीप, प्रविधि र लगानी ल्याउन नेपालको राज्यले मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने । उनले विदेशी नागरिकता लिएका नेपालीलाई आवतजावत र सम्पत्ति खरिदमा कानूनी प्रक्रिया पुरा गर्न पनि आग्रह गरे ।

उनले वंशजको नागरिकता निरन्तरता अभियान थाती राखेर अहिले गैर आवासीय नेपाली नागरिकता पारित गराउन एसोसिएसनले दवाव दिने आश्वासन पनि दिए ।

अर्का वक्ता नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जुन देशको नागरिकता छ, त्यो देशको कानून लागू हुने बताए। ‘विदेशी नागरिकता त्याग गर्नेले नेपालको कानून फलो गर्नु पर्छ तर नागरिकता कायम नरहनेहरुले फलो गर्नु पर्दैन’, उनले भने, ‘रवि लामिछानेको केस त्यही हो । नेपालमा नागरिकता पुनप्र्राप्ति गर्न विदेशी नागरिकता छोडेको प्रमाण पेश गर्नुपर्छ ।’

भारतसंगको खुला सिमानाका कारण नागरिकताको विषय अलिक जटिल बनेको बताउंदै वरिष्ठ अधिवक्ता पोखरेलले सार्क बाहेकका मुलुकमा बस्ने नेपालीहरुलाई नागरिकता दिने प्रावधान संविधानमै रहेको स्मरण गरे। ‘गैर आवासीय नेपाली नागरिकता ऐनबारे नेपालमा कुनै विवाद छैन। सक्नु हुन्छ भने छुट्टै पारित गराउनोस्’, उनले भने ।

नेपालमा गैरआवासीय नेपाली नागरिकता ऐन ल्याउंदा संक्रमणकालिन अवधि उल्लेख गर्न उनले सुझाव दिए । ‘त्यसमा भूतदर्शी प्रावधान पनि राख्न मिल्छ’, पोखरेलको धारणा थियो ।


कार्यक्रममा एनआरएनए अध्यक्ष कुल आचार्यले रवि लामिछानेको मुद्दामा सर्वोच्चको फैसलापछि विदेशमा रहेका आम गैर आवासीय नेपालीमा चिन्ता र चासो बढेको बताए ।

उनले गैर आवासीय नेपाली नागरिकता प्रमाणीकरण हुन विभिन्न चलखेल भएपनि यो छिट्टै पारित हुने आशा व्यक्त गरे । ‘पैत्रिक सम्पत्तिको अधिकार सुरक्षित राख्न हामी सबैले लबी गरेर छिटो नागरिकता प्राप्त गरौं’, अध्यक्ष आचार्यले आग्रह गरे ।उनले  गैर आवासीय नेपालीका प्रमुख मुद्दा नेपाल सरकारले सम्वोधन गराउन सबै एक भएर अघि बढ्न आचार्यले अपिल गरे

सोमबार मिडल्यान्डको नटिङ्घम स्थित गोर्खा एक्सप्रेसमा आयोजना गरेको कार्यक्रममा एनआरएन युके अध्यक्ष सुनिलबाबु खड्काको सभापतित्वमा भएको थियो,कार्यक्रममा एनआरएन युके उपाध्यक्ष गोबिन्द खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एनआरएनए यूकेका सचिवहरु ज्ञानेन्द्र आले र विष्णु चालिसेले गरेका थिए ।

कार्यक्रममा सोलिसिटर दिपक भट्टराई,एनआरएनए युरोप क्षेत्रिय उपसंयोजक दयानिधि सापकोटा,श्रीजनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयाल,साझाका उपाध्यक्ष कृष्ण खरेल,शिबजी श्रेष्ठ,रणबहादुर केसी,केशब भण्डारी, कृष्ण गुरुङ,यज्ञ डुम्रे, महेश अधिकारी,नेपाली समाज नटिंघमका अध्यक्ष रविन्द्र शर्मा एबम माया प्रधान लगायतले  आ-आफ्नो धारणा राखेका थिए ।

एनआरएनए यूके प्रबक्ता शशांक शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।स्वादिष्ट खानाको व्यवस्था दिपक सापकोटाले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले विभिन्न गैर आवासीय नेपाली र कानुनका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुले गैर नेपालीहरुको भविष्य र नेपालको वर्तमान सन्धर्भका विषयमा उठेका प्रश्नहरुको अधिवक्ताहरुले जवाफ लिएका दिए ।

गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा लगायत एनआरएनहरुको कानूनी तथा संवैधानिक अधिकारका सवालमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष नारायणदत्त कंडेलले गरेका थिए ।

हेर्नुस पुरा भिडियो कसले के भने त ?