सिड्नी । मगर समाज अस्ट्रेलियाको माघे सक्रांन्ति मेलामा सम्पन्न भएको छ । समाजले २९ जनवरी आईतबार गोह्वीट ल्याम्प पार्कमा माघी पर्वको अवसर पारेर विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको हो ।पुजाआजा सहित दिउँसो ३ बजेबाट कार्यक्रम सुरु भएको हो ।
समाजका अध्यक्ष अनिल थापा मगरको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् न्यू साउथ वेल्स महावाणिज्यदूत दिपक खड्काले नेपालीहरु संस्कृतिमा धनी रहेको भन्दै त्यसको जगेर्ना र प्रबद्र्धन गर्न कार्यक्रमले महत्व राख्ने बताए ।
त्यस्तै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि मगर समाजको महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निमन्त्रणा गरेकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा निम्फाका अध्यक्ष सुदर्शन थापा मगरले निम्फाले सबै जनजातिहरुका अधिकारहरुका लड्दै आईरहेको बताए । उनले निम्फाले सामुहिक दायित्व बहन गर्दै अन्य सघंसंस्थासगं हातेमालो गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा विभिन्न समाजका प्रतिनिधिहरु, समाजसेवीहरु, सञ्चारकर्मीहरु र मगर तथा गैर मगर समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बेलुकी ७ बजे सम्म चलेको कार्यक्रम समाजकी सदस्य रेखा गर्बुजा मगर र पूर्व अध्यक्ष नविन राना मगरले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने झाँतो, हलो जुवा, पञ्चेबाजा लगायतका मौलिक सामाग्री राखिएको थियो ।
कार्यक्रममा विभिन्न खेल समेत खेलाईएको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता अन्तर्गत लिगलिग दौड ४० वर्ष माथिको र खुल्ला प्रतियागीता सम्पन्न भएको हो । ४० वर्ष माथिको लिगलिग दौड जीत लिम्बु र खुल्ला तर्फ मिन आले विजयी भएका थिए भने छेलो तर्फ किरण पुनले जिते ।
कार्यक्रममा स्थानीय कलाकारसगैं नेपालबाट आएका कलाकारहरुको सागींतिक प्रस्तुती समेत रहेको थियो । चर्चित लोकदोहोरी गायिका सम्झना लामिछाने मगरले प्रस्तुती दिँदा दर्शकहरु झुमीझुमी नाचेका थिए । त्यस्तै नेपाल आइडलका प्रतिष्प्रधी सागर आले मगरले समेत आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा सहयोगी प्रायोजक तथा कार्यक्रम सम्पन्न गर्न विभिन्न तहबाट सहयोग गर्ने व्यक्तिहरु र सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।










