चितवन ट्रष्ट यूकेले शक्तिखोरमा गर्र्यो निःशुल्क आँखा शिविर,सयौ स्थानीयले लिए स्वास्थ्य लाभ,

लण्डन । चितवनको शक्तिखोरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । चितवन एड ट्रष्ट यूके, नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र राइनो क्लब नारायणगढको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो। आँखा सम्बन्धी समस्या भएका विरामीहरुलाई सेवा दिने उद्देश्यले बिहीबार शक्तिखोर स्वास्थ्यचौकीमा भएको निःशुल्क आँखा शिविरमा करिब १ सय जनाले स्वास्थ्यलाभ लिएका छन् ।

शिविर सञ्चालनका लागि चितवन एड ट्रष्ट(क्याट) युकेले १ लाख नेपाली रुपैयाँको व्यवस्थापन गरेको अध्यक्ष रितेशराज पाण्डेले जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठको सयोंजनमा शिविरका लागि क्याट युकेको पदाधिकारीको बैठक बसी निणर्य गरेको थियो । पवित्र कार्यका लागि सबै पदाधिकारी एकजुट भएकोमा उनले धन्यवाद समेत व्यक्त गरे ।

‘स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर शक्तिखोर स्वास्थ्यचौकीमा आँखा शिविरको आयोजना गर्ने निणर्य लियौँ, उक्त शिविरबाट करिब १ सय जनाले निःशुल्क उपचार सेवा लिए,‘ अध्यक्ष पाण्डेले भने’ यस्तो पवित्र मानविय कार्य सम्पन्न गर्न पाएको भन्दै उनले आफुलाई खुसी लागेको बताए ।

कार्यक्रममा राइनो क्लबकी सचिव समेत रहेकी कार्यक्रम संयोजक छाया श्रेष्ठले शिविरमा उपचार गराएका मध्ये ४ जना बिरामीमा मोतिया बिन्दुको समस्या देखिएकोले थप उपचारका लागि भरतपुर पठाएको बताइन्।विपन्न चेपाङ समुदाय लक्षित कार्यक्रम आयोजना गरिएको आँखा शिविरमा आवश्यक औषधिसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।कार्यक्रममा क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु शरद गोपाल न्याछ्यो, बद्रिलाल प्रधानलगायतको उपस्थिति रहेको थियो ।

चितवन एड ट्रष्ट यूके, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल,राइनो क्लब नारायणगढको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा सेवा पाएकाहरु खुसि देखिएका हुन् । आर्थिक अभावका कारण लामो समयदेखि आँखाको रोग बल्झाएर बसेकाहरु निःशुल्क शिविरबाट बढी मात्रामा लाभान्वित बनेका छन् ।

चितवन एड ट्रष्ट यूकेले स्वास्थ्य क्षेत्रसगैं अन्य सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको छ । संस्थाले गृह जिल्लाका विभिन्न विपत्ती तथा अफ्ठ्यारोमा सहयोग गर्नुका साथै विभिन्न स्वास्थ्य, शिक्षा सम्बन्धी कार्यक्रम समेत गर्दै आईरहेको छ ।