एक महिनाभित्र नयाँ सरकार : उद्योग मन्त्री

भक्तपुर, ३१ जेठ । उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्र नयाँ सरकार गठन हुने दाबी गर्नु भएको छ । भक्तपुरको चित्तपोलमा सूर्यविनायक नगरपालिका–१३ वडा कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले अब बन्ने सरकारको नेतृत्व नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो ।
नयाँ बन्ने सरकारले पुनःनिर्माण र भूकम्पपीडितको उचित व्यवस्थापन गर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले विपत्तिले ल्याएको चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस छाडेर एमाले प्रवेश गर्ने २०५ जनालाई टीका र खादा ओढाएर स्वागत गर्दै उहाँले नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो ।