सत्ता साझेदार दलहरूको बैठक : न्यूनतम साझा कार्यक्रम ५ दिनमा तय गर्ने

काठमाडौँ । सत्ता साझेदार राजनीतिक दलहरूको बिहीबारको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको र त्यसको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाइएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।

प्रत्येक दलबाट उक्त समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।

प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ ।