शिब भण्डारी,
लन्डन । नेपालका भूकम्प पीडितका लागि गुल्मी जिल्ला समाज यूकेले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । समाजका पदाधिकारीहरुले बुधबार कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरे ।
समाजका महासचिव राम गलामीले दिएको जानकारी अनुसार समाजले आफ्ना सदस्य एवम शुभचिन्तकहरुबाट संकलन गरेको रकम नेपाली दूतावासमार्फत् प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष अर्जुन गौतम, महासचिव राम गलामी, सचिव शिव भण्डारी मिडिया सेक्रेटरी फडिन्द्र भट्टराई, स.कोषादक्ष राजन खरेल ,सल्लाहकार कमल भण्डारी ,सल्लाहकार गोकर्ण बस्नेत लगायत अन्य सदस्यहरु दूतावास पुगी कार्यवाहक राजदूत क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
समाजले बेलायतमा गरेको कामको प्रशंसा गर्दै कार्यवाहक राजदूत क्षेत्रीले पदाधिकारीलाई धन्यवाद दिएका थिए । त्यस्तै गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोती भण्डारीले आज बुधबार नै जन्मभूमि गुल्मी पुगी जिल्ला राहत कोषमा ३ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
त्यसैगरी भूकम्प गएको लगत्तै मे १६ तारिखमा समाजका मिडिया सेक्रेटरी फडिन्द्र भट्टराईले गुल्मी जिल्लाको भूकम्पग्रस्त क्षेत्र खड्ककोट पुगी दैविक प्रकोप राहत कोषमार्फत् २ लाखभन्दा बढीको तत्काल आपतकालीन सहयोग वितरण गरेका थिए ।
गुल्मी जिल्ला समाज यूकेले नेपालमा गएको विनासकारी भूकम्पलगत्तै अप्रिल २६ मा आफ्नो वार्षिक साधरणसभामार्फत् समाजका सदस्य एवम् शुभचिन्तकमा अपिल गर्दै चन्दा संकलन गरेको थियो ।समाजले आगामी दिनमा पनि मातृभूमिलाई पर्ने पुर्नस्र्थापना सहयोगका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने समाजका अध्यक्ष अर्जुन गौतम ले बताए । यसैबीच नेपाली दूतावासले भूकम्प पीडितका लागि हालसम्म २ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमार्फत् पठाइसकिएको जनाएको छ । उक्त संकलन कार्य जारी रहेको कार्यवाहक राजदूत क्षेत्रीले जानकारी दिए ।









