चार्ल्टनमा देउसी भैलो तयारी, गायक राज सिग्देलको विशेष धमाका हुने

लन्डन । चार्ल्टन नेपाली समाज यूकेले अक्टोबर १६ तारिख गर्न लागेको दशैंतिहार शुभकामना साँझको तयारी पुरा भएको छ।

समाजका कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले स्थानीय मेरिडियन स्पोर्टस क्लबमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहित गर्न लागिएको ‘दशैंतिहार शुभकामना साँझ’ को तयारी पुरा भएको जनाएका हुन् ।

उक्त कार्यक्रममा चर्चित गजल गायक राज सिग्देल विशेष आकर्षण हुनेछन् । कार्यवहाक अध्यक्ष कंडेलले गायक सिग्देलको सांगीतिक प्रस्तुति, स्थानीय कलाकारको नृत्य र डिजे हेम विष्टको संगीतले कार्यक्रम रोचक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सहभागीबीच सामूहिक देउसीभैलो खेल्ने कार्यक्रमसमेत रहेको कंडेलले बताए ।

कार्यक्रम साँझ ६ बजे शुरु भएर राती ११ बजेसम्म सञ्चालन हुनेछ। डिनरसहित कार्यक्रममा प्रवेश शुल्क १५ राखिएको छ । ११ वर्षसम्मका बालबालिकालाई १० पाउन्ड र ५ वर्षमुनिकालाई निशुल्क गरिएको कंडेलले जनाए ।