लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को फितलो व्यवस्थापनका कारण प्रशिक्षण लिइसकेका बेलायतस्थित ५४ खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन वञ्चित भएका छन् ।
एनआरएनए आइसीसी र यूके समितिबीच समन्वय अभाव र विवाद हुंदा गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन बेलायतका ५४ नेपाली खेलाडी वञ्चित भएका हुन् ।
गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी बेलायतका खेलाडीलाई झण्डै ५ महिना अगाडिदेखि प्रशिक्षण समेत गर्न लगाएर अन्तिममा विचल्ली पारेको खेलाडीको आरोप छ ।
एनआरएनएको गैर जिम्मेवारपूर्ण कार्यले आफ्नो व्यस्त समय खेर, प्रशिक्षण खर्च र अपमानित हुनुपरेको खेलाडीले गुनासो गरेका छन् ।
नेपाल जाने तयारीमा रहेका खेलाडीले एक पत्रकार सम्मेलन गरि मातृभूमिमा खेल्ने आफूहरुको सपना चकनाचुर भएकामा आपत्ति प्रकट
गर्दै एनआरएनएले प्रशिक्षणमा भएको खर्चसहित क्षतिपूर्ति र क्षमायाचना गर्नुपर्ने माग राखेका छन् ।
ब्रिटिश आर्मीमा रहेका लङ टेनिस खेलाडी कृष्ण थापाले खेलमा सहभागी हुन एनआरएनएले निमन्त्रणा पत्र नै पठाएर आउने जाने हवाइ टिकट, खाने बस्ने लगायत सम्पूर्ण खर्च व्यहोर्ने भनेपछि तालिम शुरु गरिएको बताए ।
‘तालिम भइरहंदा एनआरएनए स्पोर्टस एकाडेमी संयोजक तथा नवौं राष्ट्रिय खेलकुद टिम तयारी समितिका जीवन सेन र सदस्यसचिव धर्मराज गिरीसंग नियमित सम्पर्क थियो’, उनले भने, ‘तर खेलमा सहभागिता हुने समय नजिकिदै जांदा उहांहरु सम्पर्कविहिन हुनुभयो । लामो प्रयासपछि उहांहरुसंग सम्पर्क हुंदा खर्च आफैं व्यवस्थापन गर्नु भन्नुभयो ।’
ब्रिगेड ब्वाइज क्लव यूकेका उपाध्यक्ष सुरेश गुरुङले एनआरएनएबाट ८ अगष्टमा आधिकारिक पत्र आएपछि बेलायतका विभिन्न चार लोकेशनमा
फ्रेण्ड्ली म्याच र तालिम शुरु गरिएको बताए ।
‘तीन हप्ता बांकी रहंदा हामीले फ्लाइटको कन्फर्मेसन दिनु भन्यौं । तर उहांहरु आलटाल गर्दै सम्पर्कविहिन नै हुनुभयो । लामो समयको प्रयासपछि उहांहरुले केही पनि गर्न सक्दैनौं भन्नुभयो’, उनले गुनासो गरे, ‘अन्तिम समयमा यस्तो व्यवहार हुंदा हाम्रो क्लव र विश्वसनियतामाथि ठूलो आघात पुगेको छ । इन्धन महंगीमा टाढाबाट खेलाडीहरु प्रशिक्षणमा आउंदा खानेबस्ने समेत व्यवस्थापन गर्नुपरयो । महिनौंदेखि तालिम गर्दाको समय खेर र अन्य खर्च भएकाले हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’
बेलायतबाट फुटबलका लागि १५ जना खेलाडी र ३ जना अफिसियल तथा मलेसियाबाट केही थप खेलाडी सहभागी गराउने बीबीसीको योजना थियो ।
नेपाल बास्केटबल संघ यूकेका अध्यक्ष रुपक गुरुङको गुनासो र माग पनि उही छ । ‘व्यतस्ता बावजुत पनि समय मिलाएर हामीले तालिम गरिरहेका थियौं । महंगो खर्चमा तालिम सहज थिएन । हामीले फ्लाइटको मिति फिक्स गर्नु भन्यौं । उहांहरुले हुन्छ भन्नुभयो तर गर्नुभएन, त्यसपछि सम्पर्क हुनै सकेन । अन्तिममा केही गर्न सक्दैनौं भन्नुभयो’, उनले भने ।
महंगो खर्च गरेर गरिएको तयारी निरर्थक भएको उनको गुनासो छ । उनले क्षतिपूर्ति आफूहरुको जोडदार माग रहेको बताए ।
नेपाल बास्केटबल यूकेकै सचिव भुवन लिम्बुले नेपाल गएर खेल्ने सपना चकनाचुर हुंदा युवा खेलाडीको मनोवल गिरेको र विक्षिप्त बनाएको बताए ।
अर्का खेलाडी विशाल गुरुङले एनआरएनएले आफूहरुको राहदानी प्रति र ठेगाना विवरण लगेकाले यसको दुरुपयोग र पारिवारिक सुरक्षामा खतरा हुनेतर्फ को जिम्मेवार हुने भन्दै प्रश्न गरे ।
एनआरएनए यूके स्पोर्टस् कोअर्डिनेशन काउन्सिलका प्रमुख सल्लाहकार राष्ट्र राईले एनआरएनए आइसीसीले खेलाडीहरु दर्ता गरेर राखेपसंग आफैं पैसा दावी गरि घोटाला गर्ने प्रपञ्च गरेको आशंका व्यक्त गरे ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले खेलकुदमा प्रतिष्पर्धा गर्न ब्रिटिश गोर्खा सैनिक, विद्यार्थी, जागिरे र हाइ प्रोफाइल राष्ट्रिय स्तरका खेलाडी गरि ५४ जना तयारी अवस्थामा रहेका बेला आइसीसीले धोका दिएको बताए । खेलाडीलाई आवश्यक क्षतिपूर्ति दिइनुपर्ने उनको माग छ ।






