देशभर प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता धमाधम

काठमाण्डौ । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया धमाधम भइरहेको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र प्रदेश सभाको ३३० सीटका लागि उम्मेदवारी दर्ता प्रक्रिया भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म दर्ता प्रक्रिया सञ्चालन हुनेछ। मनोनयनपत्र दर्ताका लागि उम्मेदवार स्वयं उपस्थित भई वा प्रतिनिधि मार्फत गर्न पाइने व्यवस्था छ।

आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य तालिका रहेको छ।  असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ।

यस्तै‚ असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने र २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।