बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ मा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

जितपुरसिमरा २२ स्थित ३ नम्बर पुल नजिकै नारायणगढबाट बीरगंजतर्फ आउँदै गरेको बाप्र.०६- ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनाराबाट २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

बसमा ४८ जना सवारमध्ये १६ जनाको मुत्यु भएको मधेस प्रदेशको ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । उनीहरूमध्ये घटनास्थलमा १० जना र उपचारको क्रममा मकवानपुरको विभिन्न अस्पतालमा मृत्यु भएको उनले बताए ।

घाइते सबैलाई उपचारका लागि ९ जना हेटौँडा, ४ जना बीरगंज र १९ जनाको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

हालसम्म मृत्यु हुनेमा १० पुरुष र ६ महिला गरी १६ जनाको मृत्यु भएको उनले पुष्टी गरे । मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको तथा अन्य विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।