३२ जिल्लामा उम्मेदवारी दर्ता, संघमा २०५, प्रदेशमा ३१३ उम्मेदवार

काठमाडौं– पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ ।

बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको प्रक्रिया रातिसम्म जारी थियो । राति ८ बजेसम्म आयोगमा उपलब्ध जानकारीअनुसार प्रतिनिधिसभाको ३७ सदस्यका लागि २ सय ५ र प्रदेशसभाको ७४ सदस्यका लागि ३ सय १३ जनाको उम्मेदवारी परेको छ ।

प्रवक्ता नवराज ढकालले अझै थप विवरण आउन बाँकी रहेको बताए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएको र राजनीतिक दलहरूको सहभागिता उत्साहजनक रहेको बताए । मनोनयन दर्तासँगै उम्मेदवारका लागि निर्वाचन आचारसंहिता लागू भएको उनले जानकारी दिए ।

आयोगले उच्च हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते तोकेको छ । दोस्रो चरणमा निर्वाचन हुने स्थानमा उम्मेदवारी दर्ता कात्तिक १६ गते हुनेछ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् । त्यस्तै प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को रुकुम (पूर्वी भाग) र रोल्पा छन् । त्यसैगरी प्रदेश ६ का रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि १० गते पहिलो चरणमा निर्वाचन हुने हो ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्र छन् । नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा १/१ वटा मात्र निर्वाचन क्षेत्र छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको आयोगका प्रवक्ता ढकालले बताए ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र प्रदेशसभाका दुईवटा क्षेत्र निर्धारण गरिएका छन् ।