एनआरएन अस्ट्रेलियाले गर्‍यो सोसल वेयलफेयर फन्डका लागि गाला डिनर

सिड्नी । गैर आवासीय नेपाली सघं एनआरएन अस्ट्रेलियाको सोस्येल वेयलफेयर गाला डिनर सम्पन्न भएको छ । सेप्टेम्बर २२ शुक्रवारका दिन रक्डेलको झरना फंक्सन सेन्टरमा गाला डिनर सम्पन्न भएको हो ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले अति समस्यामा परेका, नेपाल पठाउनुपर्ने तथा असहायहरुलाई सहयोगको जरुरी परिरहेको बेला एनआरएनएले गरिरहेको काम निकै नै सह्रानीय रहेको बताए ।

वेयलफेरका सहयोगीदाता प्रति धन्यवाद व्यक्त गर्दै उनले एनआरएनए जस्ता संस्थाले राज्यले गर्नुपर्ने दायित्व निर्वाह गरेको समेत स्पष्ट बताए । निजि क्षेत्र, समुदाय र सरकार एकै ठाउँमा बसेर काम गर्नु नमुना काम भएको भन्दै राजदुत पोखरेलले अस्ट्रेलियामा दक्ष जनशक्ति मर्यादित किसिमले बसिरहेको र यो विश्वमै नमुना बनेको बताए । नेपालीहरु आफ्नो संस्कृति कला र भाषा जोगाउन विदेशमा रहेर पनि विभिन्न अभियानहरु सञ्चालन गरेको र यसले नेपाललाई विश्वभर झल्काउन विदेशमा रहेका नेपालीहरुले भुमिका खेलेको बताए ।

उक्त अवसरमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले वेलफेयर निकै नै आवश्यक रहेको भन्दै यसको स्थापना देखिनै नेतृत्व गर्न चाहेपनि अवसर नपाएको बताए । तरपनि कोष सञ्चालनका लागि आफुले सक्दो सहयोग गर्ने भन्दै उनले सदस्यता लिएबापत वेलफेयरमा जाने शुल्कले धेरै महत्व राखेको बताए ।

उनले एनआरएनएको सदस्यता जतिसुकै बेला पनि लिन सक्ने विधान  बनाएपछि बल्ल त्यसले सार्थकता पाएकाले जतिबेला पनि एनआरएनएमा आबद्धता हुन सक्ने भन्दै आफुले धेरै भन्दा धेरै सदस्यहरुलाई एनआरएनमा जोडेको बताए । उनले वेयलफेयरले विशेषत : कोरोनाको समयमा आफु लगायत आफ्नो टिमले धेरै भन्दा धेरै नेपालीहरु सहयोग गरेको स्मरण गरे ।

प्रायोजकको तर्फबाट डिला खरेलले मन्तव्य व्यक्त गर्दै आफु वेलफेरको बारेमा निकै सचेत रहेको भन्दै निकै महत्वपूर्ण र नेपालीहरुलाई विपदको बेला काम लागेको बताए । उनले अघिल्लो पटक पनि वेलफेरमा आफु सहभागी भएको भन्दै आगामी दिनमा पनि आफु र आफ्नो संस्थाबाट सक्दो साथ सहयोग गर्ने बताए ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले यो फन्डलाई अझै व्यापक र विशाल बनाउन लागिपरेको बताए ।  उनले एआरएनएको ठुलो सञ्जाल निर्माण भएको भन्दै खुसी व्यक्त गरे । एनआरएनएको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिबल बिभिन्न शहर हरुमा गर्न लागेको  भन्दै यसले सबै नेपालीलाई प्रतिनिधित्व गर्ने समेत स्पष्ट पारे ।

उक्त अवसरमा वेलफेयर सम्बन्धी परिचयात्मक कार्यक्रम गरिएको थियो ।एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्षले विभिन्न विधामा प्रश्न सोधेका थिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्व अध्यक्ष गणेश केसी, पूर्व रिजनल कोअर्डिनेटर महेन्द्र कुमार लम्साल, सचिव सन्ध्या शाहले वेलफेयरको बारेमा प्रकाश पार्दै यसको सञ्चालन प्रक्रिया र दिगो व्यवस्थापनका बारेमा जानकारी गराएका थिए।

वेलफेयर सञ्चालन गरेको ईतिहास सगैं काम गर्ने विषयक्षेत्रका बारेमा एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारीहरुले आआफ्नो विचार व्यक्त गर्ने वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रिजनल कोअर्डिनेटर दिनेश राज जोशी र केशवराज सापकोटाले पनि वेयलफेरको बारेमा आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल र सचिव सन्ध्या शाहले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन सांस्कृतिक सयोंजक सबला बस्नेतले गरेकी थिईन् ।

उक्त अवसरमा बिचबिचमा विभिन्न सांस्कृति प्रस्तुती समेत राखिएको थियो भने  जेनिशा गौतम र मुस्कान गुरुङले नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे

 

कार्यक्रममा एनआरएनएका पूर्व तथा वर्तमान पदाधिकारीहरु सहित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  आन्टोप्रेनर दिपक ज्ञवालीले चित्रकलाका सामाग्रीहरुको अत्यन्तै आकर्षक लिलाम बिक्री गराएर सोसल वेयलफेयर फन्ड सन्कलन गरेका थिए भने कार्यक्रमको अन्त्यमा नेपाल आईडलका उपविजेता विक्रम बरालले आफ्नो प्रस्तुती दिँदै दर्शकहरुलाई नचाए ।