लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियको राजकीय अन्त्येष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का लण्डन आइपुगेका छन् ।
महारानीको अन्त्येष्टीमा सहभागी हुन बेलायत सरकारले पठाएको निमन्त्रणालाई स्वीकार गर्दै बेलायत पुगेका उनी शनिवार राती करिब सवा ११ बजे हिथ्रो विमानस्थलमा उत्रिएका हुन् । मन्त्री खड्कालाई बेलायती विदेश मन्त्रीकी एक विशेष प्रतिनिधिले विमानस्थलमा स्वागत गरिन् ।
मन्त्री खड्काको स्वागतको लागि लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महामन्त्रीहरु रोमियन लिम्बु, नोर्बु शेर्पा र इन्द्रहाङ लिङदेन, सदस्यहरु असल लिम्बु, चेत गुरुङ, महेन्द्र पौडेल, दुर्गाबहादुर गुरुङ, निशेष पोनु लिम्बु, इश्वर गुरुङ, नभयान लामा, तर्कजंग गुरुङ, कुमारी गुरुङ, सन्तोष सुवेदी लगायत कांग्रेसी कार्यकर्ता पनि हिथ्रो पुगेका थिए ।
लन्डनमा रहँदा मन्त्री खड्काले महारानीलाई श्रद्धाञ्जलि अर्पण तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनुका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । मन्त्री खड्का आगामी २१ सेप्टेम्बर (असोज ५ गते) स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।






