काठमाण्डौ । गायिका समिक्षा अधिकारीले आफुले क्षतिपुर्तिको रकम नलिने बताएकी छिन् । मगंलबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै समिक्षाले आफुले कुनै पनि किसिमको क्षतिपुर्ति माग नगरेको र त्यस्तो क्षतिपुर्ति रकम नलिने बताएकी हुन् ।
नायक पल शाह विरुद्ध जवरजस्तीकरणी मुद्धा दर्ता गरेकी उनलाई अदालतले क्षतिपुर्ति स्वरुप १० लाख रुपैयाँ दिन फैसला गरेको थियो । तर समिक्षाले आफुले त्यस्तो क्षतिपुर्ति पाउँ भनेर कतै माग नगरेको र उक्त रकम लिने मनसाय समेत नभएको स्पष्ट पारेकी छिन् ।
उनले आफुले लामो समय देखि भोगिरहेको घटना नेपाली कलाकारिता क्षेत्रमै एक दुखद घटना भएको समेत लेखेकी छिन् , समिक्षा लेख्छिन्-मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!
यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौ’जले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।






