बेलायतमा नेपाली मेलाको भब्य तयारीमा तमुधिं यूके( भिडियो सहित )

लन्डन । तमु धिं यूकेको आयोजनामा आगामी अगष्ट २८ तारिखमा १३ औं नेपाली मेला हुने भएको छ । केम्प्टन पार्कमा हुने नेपाली मेलामा मौलिक भेषभुषामा आएर मेलामा सहभागी भइ दिन तमुधिं यूकेले आव्हान गरेको छ ।तमुधिं यूकेले सन् २००९ देखि वर्षेनी लन्डनमा मेला गर्दै आएको छ ।

आयोजक तमुधिं यूकेले आइतबार तमुधिं भवन मिचेटमा एक पत्रकार सम्मेलन गरी लन्डनको केम्पटन पार्क रेसकोर्समा हुने मेलाको तयारी ९० प्रतिशत पूरा भएको जनाएको छ।

पत्रकार सम्मेलनका सभापति तथा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले नेपाली मेला तमुहरुको मात्र नभइ सम्पूर्ण नेपालीको भएकोले यसलाई सफल पार्न सबैको सहयोग, सहभागिताका लागि अपील गरे ।

मेलाका बारेमा समुदायमा अझ पनि कतिपय भ्रम र अस्पष्टता पाइएको भन्दै अध्यक्ष गुरुङले मेलालाई सम्पूर्ण नेपालीको साझा कार्यक्रमका रुपमा जनमानसमा प्रचार गरिदिन पत्रकारहरुलाई आग्रह गरे।

त्यस अवसरमा मेला संयोजक एवम् तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्यसहित तयारीबारे अवगत गराए । संयोजक गुरुङले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नारासहित हुन लागेको मेला लन्डनस्थित नेपाली राजदूतावासको प्रत्यक्ष सहयोगमा हुन लागेको जनाए ।

यसपटक मेलामा ३२ संघसंस्थाले भाग लिने तय भएको छ । गत वर्ष यो संख्या १८ थियो । मेलामा संघसंस्थाको उत्साहजनक सहभागिता रहेको र दर्शक पनि उल्लेखनीय आउने अपेक्षा गरिएको छ । १४ वटा सांस्कृतिक नाच प्रस्तुत हुनेछ ।

संस्कार संस्कृतिलाई जगेर्ना, नयां पुस्तालाई मेलामार्फत कुलतमा नलाग्न प्रेरित गर्ने, स्थानीय समुदायसंग मित्रता बढाउने र अन्तरघुलन मेलाको प्रमुख उद्देश्य रहेको उनले बताए ।

मेला हेर्न १२ वर्ष माथिका वयस्कका लागि ५ पाउण्ड र कार पार्कको ५ पाउण्ड प्रवेश शुल्क छ भने ११ वर्ष मुनिका बालबालिकाका लागि निशुल्क छ । मेलामा खाना तथा अन्य व्यापारिक र च्यारिटीका विभिन्न स्टल राखिने छ।

मेलामा प्रस्तुत हुने सांस्कृतिक झांकी र नृत्यका आधारमा उत्कृष्ट हुनेलाई दूतावासले प्रायोजन गरेको ‘एम्बासडर कप’ दिइनेछ ।

त्यस्तै, तमुधिं यूकेका तर्फबाट प्रथम हुनेलाई ११ सय पाउण्ड, दोश्रो हुनेलाई ७ सय पाउण्ड र तेश्रो हुनेलाई ५ सय पाउण्ड पुरस्कार दिइनेछ । एनआरएनए यूकेले प्रायोजन गरेको एनआरएनए कपको पुरस्कार राशी भने टुंगो लागिनसकेको संयोजक गुरुङले जनाए ।

त्यसैगरी, झांकीमा उत्कृष्ट प्रदर्शन गरि प्रथम हुनेलाई ५ सय पाउण्ड, दोश्रोलाई ३ सय पाउण्ड र तेश्रो हुनेलाई २ सय पाउण्ड दिइनेछ । सांस्कृतिक नृत्यमा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५ सय, ३ सय र २ सय पाउण्ड पुरस्कार दिइने संयोजक गुरुङले जनाए ।

मेला अवसरमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गराइने छ जसमा प्रथम हुनेलाई अनुग्रह ज्वेलर्सले प्रायोजन गरेको एक तोला सुन दिइनेछ । अन्य आकर्षक राफल पुरस्कार पनि रहेको तमुधिं यूकेले जनाएको छ ।

मेलामा सहभागीका लागि प्राथमिक उपचार व्यवस्था र आपतकालिन ‘रेस्क्यू’ व्यवस्था पनि मिलाइएको छ ।

मेलामा कम्तीमा ३७ हजार २ सय पाउण्ड खर्च हुने अनुमान छ । करिब ५ हजार दर्शक टिकट बिक्री र कार पार्क, स्टल आदिबाट ३२ हजार ३ सय आम्दानी हुने अपेक्षा गरिएको मेला संयोजकले बताए। बांकी खर्च विभिन्न दाताबाट जुटाउन कोशिस गरिनेछ ।

मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहनेछन् भने विशेष अतिथिका रुपमा अन्य विभिन्न देशका कूटनीतिज्ञहरु पनि सहभागी हुने अपेक्षा छ ।

तमुधिं यूके महासचिव परशुराम गुरुङले सञ्चालन गरेको उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञासा आयोजक तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, मेला संयोजक एवम् उपाध्यक्ष हरि गुरुङ लगायतले मेटाएका थिए।

त्यसअघि अध्यक्ष गुरुङले उपस्थित पत्रकारहरुलाई संस्थाको तर्फबाट स्वागत गर्दै खादा ओढाएर सम्मान गरेका थिए । मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरुको परिचय गराएका थिए ।

पत्रकार सम्मेलनमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, ट्रष्टी मेम्बर एकेन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष मन्जु (सिता) गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ, कोषाध्यक्ष कमल कोने गुरुङसहित पदाधिकारी र सल्लाहकारहरुको सहभागिता थियो । सो अवसरमा संस्थाका ईकाई पदाधिकारीहरु पनि उपस्थित थिए।

पुरा भिडियो हेर्नुस