भूकम्प पीडित पत्रकारलाई गोल्डेन शीपको ५० हजार

लन्डन । लन्डनस्थित गोल्डेनशीप रेष्टुरेन्टले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रुपैयां सहयोग गर्ने घोषणा गरेको छ । रेष्टुरेन्ट संचालकद्धय देब गुरुङ्ग र सनत गुरुङ्गले भूकम्प पछि नेपाली सेना र प्रहरीजस्तै गरि समाचार संकलनमा पत्रकारहरु खटिएको भन्दै पत्रकारलाई दुःख परेको बेला सानो भए पनि सहयोग गर्ने निणर्य गरिएको बताएका छन् । यसअघि सो रेष्टुरेन्टले भूकम्प पीडितका लागि १६ लाख रुपैयां संकलन गरेको थियो । भूकम्पका कारण करिब १ हजार पत्रकार घरबार बिहीन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । भूकम्प पीडित पत्रकारको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाले छुट्टै सहयोग संकलन गरिरहेको छ । अहिले सम्म ५ लाख रुपैयां संकलन भैसकेको शाखाका अध्यक्ष चिरन शर्माले जनाए । शर्माले बेलायत स्थित बिभिन्न संघसंसस्थाबाट सहयोग आउनेक्रम जारी रहेकाले जुलाई महिनाको अन्त्य सम्म सहयोग संकलन जारी राखिने बताए ।