गल्कोट समाज युकेले पञ्चेबाजा र सोरठीमा नचाउदै भव्य रुपले सम्पन्न गर्यो छैठौँ बार्षिक भेला

शिब भण्डारी

लन्डन । बागलुङको गल्कोट घर भई हाल बेलायतमा रहेका गल्कोटेहरुको साझा संस्था गल्कोट समाज युकेको छैठोँ बार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ । जुलाई २५ तारिख सोमबार बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा विविध सांस्कृति तथा मनोरञ्जनात्मक सहित भव्य कार्यक्रमकाबीच भेला सम्पन्न भएको हो ।

समाजका अध्यक्ष भोजराज कडेंलको अध्यक्षता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बागलुङ आफ्नो ईतिहास पहिचान गर्ने जिल्लाको रुपमा रहेको भन्दै गल्कोट समाजले धर्म संस्कृति र कलालाई जीवन्त राख्न गरेको कार्यक्रम महत्वपूणर् रहेको बताए । उनले नयाँ पुस्तालाई समेत यो कार्यक्रमले सन्देश दिएको भन्दै प्रशसां गरे ।

एनआरएन युकेका उपाध्यक्ष नारायण कडेंलले गल्कोट समाजले गरेको उदाहरणीय कार्यहरुको प्रशंसा गरे । संस्थाका सस्थापक अध्यक्ष रेशम बुढाथोकीले गल्कोट समाजको स्थापना र यसले गरेका कार्यहरुको विषयमा जानकारी गराएका थिए ।शुभकामना सन्देश दिँदै डा. पुष्पा उप्रेतीले भवन निर्माण सम्बन्धी भईरहेका कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा,पूर्व अध्यक्ष राजु कडेंल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा कविता कडेंलको स्वागत नाच प्रस्तुत गरेकी थिईन् भने मनकामना महिला समुह लगायतले नृत्यु प्रस्तुत गरेको थियो । सोरठी नृत्यमा थम रेग्मीले गीत सहित नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आधा दर्जन राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिँदै सहभागीहरुलाई नचाएका थिए । लोकदोहोरीका चर्चित कलाकारहरु  रेशम निर्दोष, अस्मिता डल्लाकोटी, शान्ति रानी परियार, विशाल रायमाझी,भूमिका शाहा, बिमला श्रीश,अनुपा थापा मगर,लगायतले विभिन्न गीतसंगीत र लाइभ दोहोरी प्रस्तुत गरेका थिए भने डिजे हेम विष्टले सहभागीहरुलाई नचाएका थिए ।

सोही अवसरमा गल्कोटे पञ्चेबाजा, गल्कोटे सोरठी नाच लगायतका सांस्कृतिक प्रस्तुति समेत कार्यक्रमको विशेष आकर्षणका रुपमा रहेका थिए । सहभागीहरुले नेपालकै झल्को मेटिने गरी पञ्चेबाजा तथा सोरठीमा नाँच्दै रमाएका थिए ।

त्यस अवसरमा बेलायतमा विभिन्न डिग्री हासिल गर्ने नयाँ पुस्ताका गल्कोटेहरुलाई सम्मान समेत गरिएको छ । सांस्कृतिकमय बनेको कार्यक्रम निकै भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

समाजका उपाध्यक्ष गोविन्द कडेंलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । दुई चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणको सञ्चालन समाजका महासचिव विष्णु चालिसेले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम डिलु गैरेले सञ्चालन गरेका थिए ।

राफल ड्र अन्तर्गत पहिलो पुरस्कार स्वरूप सुनको चन्द्रमा आइएमई लन्डनका निर्देशक कमल पौडेलले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार काठमाडौंस्थित ह्वाइट हाउस होटेलका सञ्चालक देवीलाल गैरेले एक जोडीलाई दुई रात खान बस्न व्यवस्था तथा तेस्रो पुरस्कार सनराइज फाइनान्सियल सोलुसन्स् यूकेका निर्देशक प्रेम गैरेले प्रायोजन गरेका थिए ।

समाजका अध्यक्ष भोजराज कडेंलले गल्कोट समाज युकेले गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराउँदै कार्यक्रम समापन गरेका थिए । उनले आफु राजनैतिक पृष्ठभूमीबाट नआएकाले भाषण भन्दा पनि काम गरेर देखाउने बताए।कडेंलले आफुहरु सबै सेफ भएकाले स्वादिलो खाना पस्किने किसन खत्री लगायत प्रायोजकहरु कार्यक्रममा उपस्थित भएर साथ दिएकोमा र कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूणर्लाई आभार व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,एनआरएनए यूके उपाध्यक्ष गोविन्द खरेल,सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयाल,नेपाली सेफ यूके अध्यक्ष कोलेश्वर ढकाल,सामाजिक अभियन्ता एवं नटिङहम नेपाली समाजका संस्थापक अध्यक्ष रणबहादुर क्षेत्री, साझा नेपाली समाजका निवर्तमान अध्यक्ष महेश अधिकारी,साझा नेपाली समाजका उपाध्यक्ष प्रेम मगर, शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी,आइएमई लन्डनका निर्देशक कमल पौडेल लगायत मिडल्याण्डका लेष्टर पिटरबरो, नटिङहम, बर्मिङहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।कार्यक्रममा समाजका सल्लाहकार प्रेम गैरे लगायतले अतिथि सत्कारका लागि भूमिका खेलका थिए ।