काठमाडौँ । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट र्यापर यमबुद्धको शालिक बनाउने कार्यक्रम ल्याएपछि उनको आलोचना भएको छ ।
बालेनले र्यापर यमबुद्धको शालिक बनाउन १५ लाख बजेट छुट्टयापछि मिडिया र सामाजिक सञ्जालमा उनको आलोचना भएको हो । बालेनले यससम्बन्धी फेसबुकमा शेयर गरेको पोष्टमा शालिक बनाउने कुरा गलत भएको प्रतिक्रिया धेरैले दिएका छन् ।
बालेनको पोष्टमा चुरा मणि पाण्डेले टिप्पणी गर्दै भनेका छन्- ‘गलत गर्दै छौ बालेन !! अहिलेको आवश्यकता मुर्ती बनाउने हैन, विभिन्न आयमुलक काम गर । हिरोबाट जिरो बन्न खासै समय लाग्दैन । समयलाई चिन ।’
त्यस्तै धेरैले विद्यालय, अस्पताल, सडक लगायतका विकासमा काम गर्न सुझाव दिदै शालिक बनाउने विषय गलत भएको टिप्पणी गरेका छन् ।
स्थानीय तहहरुले विकासका नाममा भ्यूटावर, स्वागत गेट लगायतका काममा ठुलो बजेट खर्च गरेको भन्दै आलोचना हुदै आएकोमा बालेन पनि शालिक बनाउने तर्फ लागेको भन्दै उनको आलोचना भएको छ ।
यमबुद्धको शालिक बनाउने निर्णयमा वडा अध्यक्षहरु पनि सहमत नभएको देखिएको छ । केहि वडा अध्यक्षहरुले खरीबोटसँग कुरा गर्दै मेयरले एकतर्फी रुपमा यो प्रस्ताव ल्याएको र यस बारेमा कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
एक वडा अध्यक्षले अहिलेसम्म काठमाडौँको फोहोर व्यवस्थापन नै नियमित रुपमा हुन नसकेको अवस्थामा शालिक निर्माणको बजेट एकतर्फी रुपमा छुट्याउने काम गलत भएको बताए ।






