लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य आयरल्याण्डका लागि पनि गैर आवासीय राजदुत नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम राजदुत नियुक्त गरेकी हुन् । आचार्य बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा नियुक्त भएका थिए ।
राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन, गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने र भूपू गोर्खाहरुको समस्या समाधान गर्ने प्रतिवद्धता सहित यी विषयको प्रारम्भिक काम समेत थालनी गरेका छन् ।
नेपालको एक अनुभवी कूटनीतिज्ञको छवि बनाएका आचार्यले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् १९८३ मार्चमा शाखा अधिकृतबाट नेपालको परराष्ट्र सेवा प्रवेश गरेका आचार्यले परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारीदेखि संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि र उपमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
आचार्यले विगतमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।






