दुर्घटनामा परेको विमान धावन मार्गबाट हटाइयो

पोखरा, १९ जेष्ठ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । गोमा एयरले यही जेठ १२ गतेदेखि पोखरा–जोमसोम उडान शुरु गरेको थियो । अवतरण गर्नका लागि सबै इन्डिकेटर देखाएको चालकले बताए पनि अवतरण गर्ने क्रममा पांग्रा भने नखुलेको पोखरा विमानस्थल प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।
पहिरोले बेनी सोमसोम सडकखण्ड अवरुद्ध भएपछि विमानमा यात्रुहरुको चाप ह्रवात्तै बढेको छ । यतिबेला दुर्घटनाग्रस्त विमान धावन मार्गबाट हटाइएको छ । केही घण्टा अवरुद्ध भएको विमानस्थलमा अन्य उडान सुरु भएको छ ।