लण्डन । चर्चित लोकदोहोरी गायिका शान्ता परियार र मोडल रिना थापा मगर बेलायत आईपुगेका छन् । ग्रेटर रस्मोर नेप्लिज कम्युनिटीको निम्तोमा बेलायत आईपुगेका उनीहरुलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनीहरुलाई ग्रेटर रस्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष मान बहादुर गुरुङ, सिर्जनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जी,कलाकार मधुसुधन थापा,एन-आरएनए युके युवा सयोंजक अनिल मल्ल ,डा.विशाल गुरुङ,पत्रकार पूर्ण गुरुङ लगायतको समुहले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

कलाकारद्धय बेलायतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनका लागि बेलायत आएका हुन् । उनीहरुले मे १४ मा ग्रेट रस्मोर नेप्लिज कम्युनिटीको आयोजनामा हुन लागेको स्वागत कार्यक्रम र जुन ५ मा सिर्जनशील नेपाली समाजले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् ।
गुल्मी जिल्ला रेसुगां नगरपालिका तम्घास घर भएकी शान्ता रानी परियार पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चर्चित नाम हो । उनले हालै मात्रै पञ्चेबाजामा आधारित गीत मेरो माया त गुल्मी तिरको नामक गीतमा स्वर दिएकी छिन् । उनका दर्जनौँ गीतहरु लोकप्रिय छन् । कुनै समय सञ्चारकर्मी समेत रहेकी उनी दोहोरीमा पनि उत्तिकै अब्बल मानिन्छिन् ।
त्यस्तै मोडलिङ क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै गरेकी मोडल रिना थापा मगर काभ्रेप्लान्चोक जिल्लाको कोशीदेखामा जन्मिएकी हुन् । उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

सिर्जनशील नेपाली समाजको आयोजनामा यही जुन ५ मा एम्पायर हलमा बेलुकी ६ बजेदेखि हुने कार्यक्रममा उपस्थितिका लागि सिर्जनशील नेपाली समाज युकेका अध्यक्ष एबम एनआरएनए युके राज्य समन्वय परिषद इङ्गल्याण्डका उपाध्यक्ष समेत रहेका समाजसेवी तथा व्यवसायिक व्यक्तित्व भक्त दर्जीले सबैसगं अनुरोध गरेका छन् ।
( हेर्नुस यो पुरा भिडियो )






