आइएसद्वारा सिरियाको अर्को सहरमा हमला

दमास्कस, १७ जेठ । इस्लामिक स्टेट (आइएस) ले सिरियाको अर्को सहरमा आक्रमण थालेका छन् । उनीहरुले सो सहर पनि कब्जागर्न सो प्रयास गरेका हुन् । आइएसका लडाकूले शनिबार रातिसम्म सिरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने हासाकेहमा सो हमला गरेका हुन् । कुर्दीसहरुको बाहुल्यता रहेको सो नगरलाई उनीहरुले कब्जागर्ने प्रयास गरेका सिरियाली अधिकारवादी समूहले जानकारी दिएको छ । कुर्दीस लडाकूहरुले एकदिनमात्र अघि त्यहाँका कम्तीमा पनि २० जना सर्वसाधारणको हत्या गरेका थिए ।
अतिवादीहरुलाई सघाएको आरोपमा ती नागरिकको हत्या गरेको भोलिपल्टै शनिबार उनीहरुले उक्त नगरमा नै हमला सुरु गरेका बताइएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले सो समाचारको पुष्टि गर्नुभएको छ । उहाँले भन्नुभएको छ– आइएसका लडाकूहरुले शनिबार हासाकेह सहरमा पनि सो हमला गरेका छन् ।
उनीहरुले यसअघि पनि सिरिया र इराकको सहर नै आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएका थिए । ती नगर अहिले पनि उनीहरुकै नियन्त्रणमा रहेका छन् । प्राप्त पछिल्लो समाचारअनुसार सो नगरको उत्तरी किनाराबाट सिरियाली सरकारी सैनिकले आइएसलाई रोक्ने प्रयास गरेका छन् । तर उनीहरुको प्रयास कत्तिको सफल हुन्छ भन्नेबारेमा भने अहिले नै केही भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो ।