लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपाल भ्रमणको निम्ता दिएका छन् ।
दक्षिण एसिया भ्रमणमा निस्कने तैयारीमा रहेका जोन्सनलाई आचार्यले नेपालमा पनि आउन निम्ता गरेका हुन् । बेलायतमा नै ब्यवसाय गरिरहेका आचार्यले नेपाल र बेलायत बीचको मित्रवत सम्बन्ध बिश्वमा उदाहरणीय रहेको भन्दै गोर्खाहरुमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए ।
विभिन्न विपत्ति र नेपाललाई पर्ने हरेक किसिमको अफ्ठ्यारोमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपाल र बेलायतको सम्बन्धलाई अझ उचाइमा पुर्याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दै गर्दा नेपाल पनि भ्रमण गर्न निम्ता गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालय, नेपालका लागि बेलायती राजदूत लगायतलाई अधिकारिक पत्राचार गरेर निमन्त्रणा पठाएको अध्यक्ष आचार्यको सचिवालयले जानकारी दिएको छ ।
बेलायत नेपालको सबैभन्दा ठुलो बिकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेट र वार्ता हुन सके एक आपसमा चौतर्फी सहयोग र बिकासका आयामहरुमा अगाडि बढाउन सकिने पनि आचार्यले बताएका छन् ।
नेपाल र बेलायतको २०० बर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक-पटक भएपनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुइ देश बीचको एतिहासिक सम्बन्ध थप मजबुत बनाउने भन्दै उनले जोन्सनलाई नेपाल भ्रमण गर्ने निम्ता दिएका हुन् ।







