बेलायतमा आज रथ तानेर मनाईँदै बिस्केट जात्रा’

लण्डन। नयाँ वर्षको आगमनसंँगै शुरु हुने तान्त्रिक तथा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छविकालीन बिस्केट जात्रा लण्डनमा पहिलोपटक भव्य रुपमा मनाउन लागिएको छ ।

पासा पुचः गुथि यूकेको आयोजनामा आज दिँउसो २ बजे प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा एक विशेष कार्यक्रम आयोजना गरि बिस्केट जात्रा मनाउन लागिएको हो । परम्परागत शैलीमा जात्रामा तान्नको लागि रथ नै तयार गरिएको छ।

बेलायतमा नेवारी संस्कृति र परम्पराको प्रवर्द्धन तथा उदाउँदै गरेका नयाँ पुस्तालाई संस्कृति र मौलिकता एवम् पर्वहरु हस्तान्तरण गर्नु नै जात्राको प्रमुख लक्ष्य रहेको अध्यक्ष ओजेश सिहंले लण्डन न्यूज नेपाललाई बताए । उनले अब नियमित रुपमा प्रत्येक वर्ष जात्रा मनाउने योजना बनाईएको समेत बताए ।

जात्राको संयोजन पासा पुचः गुथिको साउथ इष्ट लन्डन शाखाले गरेको छ । जात्रामा बेलायतभरबाट ५ सय भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । बिस्केट जात्राकै अवसर पारेर नेवारी मौलिक खानाका परिकारहरु पनि आकर्षणको रुपमा राखिएको छ ।

आयोजकले जात्रा अवलोकनका लागि उपस्थित भईदिनुहुन सबैलाई अनुरोध समेत गरेको छ । सो कार्यक्रमको लण्डन न्यूज नेपालले स्थलगत प्रत्यक्ष प्रशारण गर्नेछ ।