जनकपुर । धनुषामा मोटरसाइकल दुर्घटनामा चार जना बालकको मृत्यु भएको छ ।
सोमबार साँझ धनुषाको सवैला नगरपालिका-१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा एउटै मोटरसाइकलमा सवार चारजना बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेको धनुषाका प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।
साथै दुर्घटनामा परी सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचैजना गम्भीर घाइते भएका थिए । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउँदा चारजना बालकलाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।






