मोरङमा प्रहरी र स्थानीबीच झडप : एक प्रहरीको मृत्यु, २० बढी घाईते

मोरङ । मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परी एक महिला प्रहरीको मृत्यु भएको छ भने प्रहरीसहित २० जना बढी घाइते भएका छन् ।

लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविमा पढ्ने १२ वर्षीया एक बालिकामाथि सोही विद्यालयका शिक्षकले जबरजस्तीको प्रयास गरेको आरोप लागेपछि झडप भएको थियो ।

आइतबार बेलुकी भएको झडपमा एसपी जनार्दन जीसीसहित १५ बढी प्रहरी र केही सर्वसाधारणा घाइते भएका हुन् । घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले उनीमाथि खुकुरी प्रहार भएको जनाएको छ ।

शिक्षक मनोज पौडेलले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ । उनीमाथि कारबाहीको माग गर्दै विद्यार्थी र स्थानीय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । पीडित विद्यार्थीका अभिभावक र आफन्तले दिनभर प्रदर्शन गरेका थिए ।आइतबार बेलुका भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।

स्थानीयकाअनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर जबरजस्ती करणीको प्रयास गरेका थिए । उनी शिक्षा विकास माविका निमावि तहका सामाजिक शिक्षक हुन् ।  उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विधार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । लेटाङ नगरपालिका प्रमुख शङ्कर राईले बालिकामाथि ज्यादती गर्न खोज्नु अपराध भएकाले दोषीलाई कारबाही हुनुपर्ने बताए ।