पूर्व गोर्खा सैनिक ओम गुरुङले बेलायतमा ‘फ्री म्यान’को सम्मान पाए

लण्डन । पूर्व गोर्खा सैनिक ओम गुरुङले बेलायतमा ‘फ्री म्यान’को सम्मान पाएका छन् । यो सगैं उनी उक्त सम्मान पाउने पहिलो गोर्खा समेत बनेका छन् ।

बेलायतको ननिटन तथा वेडवर्थ बरो काउन्सिलले गुरुङलाई ‘फ्री म्यान अफ अ बोरो’ सम्मान प्रदान गरेको हो । सो सम्मान बेलायतका स्थानिय निकायहरुले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान मानिन्छ ।

पूर्व गोर्खा सैनिक गुरुङलाई सो सम्मान बुधबार ननिटन टाउन हलमा आयोजित एक समारोहबीच काउन्सिलका मेयर रोब ट्रोमान्सले प्रदान गरेका हुन् ।

काउन्सिल लिडर क्रिस विल्सनले गुरुङलाई ‘फ्री म्यान’को सम्मान दिने प्रस्तावको नेतृत्व गरेका थिए । उनले गुरुङ गोरखा समुदायका लागि मात्र नभएर ननिटन र बेडवर्थलाई परि आउँदा सहयोग गर्ने एक मात्र व्यक्ति भएको बताए ।

ननिटनमा बसोबास गर्दै आएका गुरुङलेले यो सम्मानले आफुलाई धेरै खुसी बनाएको प्रतिक्रिया दिए । गुरुङले आफुले सम्मानको लागि काम नगरेको भएपनि आफ्नो कामको मुल्याङकन गरेर सम्मान प्रदान गरेकोमा काउन्सिलरहरुलाई धन्यवाद दिए ।

काउन्सिलरहरुले गुरुङले कम्युनिटीलाई लामो समयदेखि निरन्तर सहयोग गरिरहेको बताएका थिए ।