सिड्नी । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको जनजीवन फेरी सामान्य बन्दैछ । विभिन्न पर्व र उत्सवको अवसरमा आयोजना गरिने मेला महोत्सवहरु पुनः हुन थालेका छन् ।
अस्टे्रलियाको सिड्नी नेपालीहरुको अत्यधिक बसोबास भएको क्षेत्र हो । सिड्नीमा हरेक पर्व र ईभेन्ट्समा नेपालीहरुले विभिन्न उत्सव र कार्यक्रमहरु गर्दै आएका छन् । निकै बाक्लो मात्रामा विभिन्न कार्यक्रमहरु हुने यस क्षेत्रमा होलीलाई लक्षित गर्दै १९ मार्चमा दुईवटा कार्यक्रम हुँदैछन् ।
हरेक वर्ष विभिन्न पर्वहरुमा कार्यक्रमहरु आयोजना गर्दै आईरहेको फन्टास्टिक इभेन्ट्सले सिड्नीमा ‘सिड्नी होली मेला २०२२’ आयोजना गर्दैछ । १९ मार्चमा हुने कार्यक्रमलाई होल्ड्रेड गार्डेन्स, मेरिल्यान्डसमा आयोजना गरिँदैछ । ‘सिड्नी होली मेला’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमका लागि कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्लेलगायत सहभागी हुँदैछन् ।
१९ मार्चमै कमेरो इभेन्ट्स र रकडेल ब्वाइजको आयोजनामा सिड्नीको ग्रयानभिल पार्क मेरिल्यान्डमा ‘सिड्नी होली फेस्टिभल’ हुँदैछ । होली कार्यक्रममा नेपाली गीतसंगीत क्षेत्रका परिचित अनुहारहरू कालीप्रसाद बास्कोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेसलगायतका कालाकर्मीले प्रस्तुति दिने छन् ।
कोरोना भाइरसको महामारीका कारण दुई वर्षको अन्तरालमा हुने कार्यक्रममार्फत सिड्नीवासी नेपालीले मनोरञ्जन पाउने विश्वास आयोजकको छ । साथै नेपाली कला संस्कृतिको पहिचान गराउने र सिड्नीमा रहेका अन्य समुदायलाई समेत नेपाली संस्कृति प्रति आकर्षित गर्न पनि कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने उनीहरुको भनाई छ ।






