काठमाडौँ । विवाद र चर्चामा आएको गीत ‘पिर’ बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् ।
सधैं कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ । जसले गर्दा केही दर्शक स्रोतलाई कर्मा परेको महशुस गरेको उनले प्रस्ट पारेका छन् ।
गीतले भन्ने चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैंले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु । मैंले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’
’पिर’ बाट आफुले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ । समानताको लागि एकसाथ लडेका कमरेडहरूबिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ । गीत मार्फत आफुले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताए ।
‘मलाई लागेको- यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै/पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन् ।
‘जसरी यसअघिका गीतहरू ’बोल माया’, ’दोहोरी ब्याटल’, ’गल्बन्दी’, ’बदला बरिलै’, ’फुटेका चुरा’ , ’मेरो पनि हैन र यो देश’, ’कुरा बुझ्न पर्छ ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउथें, टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड/छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।’ उनले लेखेका छन् ।
यस्तो छ उनको स्टाटस






