लण्डन । बेलायतस्थित नेपाली दुतावासले भूपू गोर्खाहरुको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ ।
नेपाल सरकारले बेलायत सरकारसगं वार्ता गर्न राजदुत ज्ञाचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरे लगत्तै दुतावासले वार्ताका लागि गृहकार्य सुरु गरेको हो ।
दूतावासले भूपूगोर्खा संगठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिईन् ।
गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ भने अन्य थप प्रतिनिधि भने विषयगतरूपमा छानिने जनाइएको छ । दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ ।
दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएशन (नेसा) र गोर्खा जस्टिस ग्रुप आवद्ध गोर्खा अभियानकर्मी सहभागी रहेको र दूतावासबाट राजदूतसँगै वार्ता समितिमा सदस्यसमेत रहेका उपनियोग प्रमुख खनाल र मिलिटरी एट्याची रत्नबहादुर गोदारको सहभागिता रहेको जनाइएको छ ।
नेपाल सरकारले गोर्खा वार्ताका लागि राजदूत ज्ञानचन्द्र आचार्यका नेतृत्वमा वार्ता टोली गठन गर्ने निणर्य गरेको थियो । बुधवार सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रीपरिषदको निणर्य सुनाउँदै लामो समयदेखि भूपू गोर्खा सैनिकहरुको माग सम्बोधन गर्नकालागि नेपालको तर्फबाट वार्ता टोलीको गठन गरिएको जानकारी गराएका थिए । राजदूत आचार्यको पहिलो प्राथमिकता गोर्खाको समस्या समाधान गर्न पहल गर्ने रहेको दूतावासले जनाएको छ ।
पेन्सनलगायतका मागबारे बेलायतसँग वार्ता गर्न नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा आन्दोलनरत पूर्वसैनिकका प्रतिनिधिसहितको टोलीले वार्ता गर्नेछ ।
पूर्वगोर्खा सैनिकले लामो समयदेखि ब्रिटिस नागरिक सरह गोर्खा सैनिकको तलब र पेन्सनसहितका सुविधा माग्दै आएका छन् । सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकाश पाएका नेपाली नागरिकले असमान पेन्सन र सुविधा प्राप्त गर्दै आएको उनीहरूको भनाइ छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार ब्रिटिस सेनामा करिब ३५ सय नेपाली नागरिक कार्यरत छन् भने ३५ हजार अवकाशप्राप्त गोर्खा सैनिक र परिवारले पेन्सन बुझ्दै आएको छ । तर, १९९७ पछि अवकाश भएका गोर्खालाई बेलायतीसरह पेन्सन सुविधा दिएको छ ।
भूपू गोर्खाहरुले आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दै लामो समयदेखि आन्दोलनरत समेत थिए । लामो समयदेखि राजदुत विहिन बनेको लण्डन स्थित नेपाली दुतावासमा गत सातामात्रै राजदुत ज्ञानचन्द्र आचार्यले पदबहाली ग्रहण गरेका थिए । सोही क्रममा नै उनले पूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्नु आफ्नो प्रमुख प्राथमिकतामा रहेको समेत बताएका थिए ।






