काभ्रे । काभ्रेमा ढुगांखानीमा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नं. १४ आशापुरीस्थित ढुंगाखानीमा माथिबाट खसेको पहिरोले पुरेर एक जनाको मुत्यु हुनका साथै दुई जना घाइते भएका छन् ।
आशापुरी रोडाढुंगा सप्लायर्स प्रा.लिले सञ्चालन गरेको खानीमा लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले पुरेर रामेछाप दोरम्बा सैलुङ गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमि बस्ने ३२ वर्षीय श्याम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मुत्यु भएका मगर प्रदेश ३-०२-००३ क ५७४८ नं.को ट्रिपर चालक हुन् । मगरको पुरिएको अवस्थामा शव निकालेको हो ।
घटनामा परी काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १४ आशापुरीका सिन्दमान तामाङ र खोटाङ जिल्ला खोटाङ गाउँपालिका घर भई हाल आशापुरीमा बस्दै आएका रमेश सार्की घाईते भएका छन् । अवस्था मध्यम रहेका उनिहरु दुवैको भक्तपुर अस्पतालमा उपचार भईरहेको छ ।
सुक्खा पहिरो जाँदा दूई स्काईभेटर, तीन ट्रिपर र एक निशान गाडी पुरिएका छन् । स्थानीय पाँच जनाको नाममा रहेको ७५ रोपनी जग्गा र सप्लायर्सको नाममा रहेको ६५ रोपनी जग्गामा विगत तीन बर्षदेखि सो क्षेत्रमा खानी सञ्चालन गर्दै आएको छ ।






