भारतमा गर्मीले ३५० जनाको मृत्यु

काठमाडौं, जेष्ठ ११ । भारतका विभिन्न राज्यहरुमा गर्मीका कारण ३ सय ५० भन्दा बढीको मृत्यु भएको छ । ४८ डिग्रीसम्मको तापमानसँगै चलेको तातो हावाबाट तेलंगना र आन्ध्र प्रदेश बढी प्रभावित भएका छन् । त्यस क्षेत्रमा शनिबारयता १ सय ४० भन्दा बढीको मृत्यु भैसकेको छ । पश्चिम बंगालको पूर्वी क्षेत्रमा मात्रै १० जनाको मृत्यु भएको छ । मर्नेहरु धेरैजसो कामकाजी बृद्धबृद्धा रहेको बताइएको छ । कोलकातामा ‘लू’का कारण दुईजना चालकको मृत्यु भएको छ । उत्तर प्रदेशको इलाहावादमा तापमान ४८ डिग्रीसम्म पुगेको छ । भारतको राजधानी दिल्लीको तापमान ४४ डिग्री पुगेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । मौसमविद्हरुले तापमान केही दिन अझै नघट्ने जनाएका छन् ।