सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘शव्द सारथी’ कार्यक्रम सम्पन्न गरेको छ । नेपाली साहित्य, भाषा र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका कविहरुको जमघट गराई कविता वाचन गरिएको थियो ।
२४ जना कवि कवियत्री सहित उक्त कार्यक्रममा अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चार वटा च्याप्टरका पदाधिकारीहरुले आफ्नो सिर्जना वाचन गरेका थिए ।
विगतमा नियमित गरिँदै आएको कार्यक्रम लामो समयदेखि कोरोना महामारीका कारण गर्न नसकिएकाले भर्चुअल माध्यमबाट सम्पन्न भएको अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले बताए । कोरोना महामारीका क्रममा रोकिएको शृङ्खला अब नियमित सञ्चालन गर्ने तयारी रहेको छ ।
‘शब्दसारथि’को ११ औँ शृङ्खला अन्तर्गत साहित्यकारहरुको आग्रह अनुसार अनूकूल समय मिलाएर सिड्नी समय अनुसार आईतबार दिउँसो २ बजे कार्यक्रम गरिएको शर्माले जानकारी दिए ।
कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष हरिप्रसाद अधिकारी, अनेसास न्यूसाउथ वेल्स च्याप्टरकी अध्यक्ष ममता तिवारी, अनेसास क्यानबेरा च्याप्टर अध्यक्ष चन्द्र तिवारीले च्याप्टरका गतिविधि बारे जानकारी गराउँदै रचना वाचन गरे । उनीहरुसगं अनेसासका विषयमा छलफल समेत गरिएको थियो ।
अनेसास च्याप्टर र केन्द्र बिचको सम्बन्धलाई अझ नजिक बनाउने अवधारणा अनुरूप ‘ नमस्ते च्याप्टर’ को शुभारम्भ गर्दे उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले यस किसिमको कार्यक्रमले केन्द्र र च्याप्टरलाई एउटै मञ्चमा उभिन सहयोग पुग्ने भन्दै सिर्जना पोख्ने माध्यम बनेको समेत बताए । अनेसासका सद्भावना दूत आचार्य राजन शर्माले यस्ता कार्यक्रमहरु समय समयमा आयोजना भईराख्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा महता घिमिरे चापागाईं, राजेश्वरी रेग्मी आचार्य, इसा शर्मा कोइराला, प्रकाश तिवारी ‘विवश, रमेश अधिकारी, डा.प्रकाश पौडेल, गायत्री कोइराला, गोविन्द बराल, रोमन मानव, ईश्वर पौडेल, गोमा उप्रेती, सन्तोष लम्साल, मुक्तिराम पोखरेल, आशिष भट्टराईलगायतले आआफ्नो रचना वाचन गरेका थिए भने साहित्य अनुरागी नेत्र पौडेलको सहभागिता पनि रहेको थियो ।
अस्ट्रेलिया भ्रमणमा रहेका गजलकार धनराज गिरीको पनि सहभागिता रहेको उक्त कार्यक्रममा अस्ट्रेलिया निवासी अनेसासका उपाध्यक्ष राजेश बुढाथोकी र केन्द्रीय सदस्य महेश्वर शर्माले कार्यक्रम आयोजनाको उद्धेश्य माथि प्रकाश पार्दै सहभागी सम्पूर्ण कविहरूलाई स्वागत र धन्यवाद व्यक्त गर्दै कविता वाचन गरेका थिए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा भएको उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले केन्द्रका विभिन्न कार्यक्रम र गतिविधिमाथि प्रकाश पारेका थिए ।
साहित्यलाई प्रवद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यसहित नेपालभित्र र बाहिरसम्म छरिएर रहेका नेपाली भाषामा लेख्ने स्रष्टाहरुलाई जोड्ने गरी सन् १९९१ सालमा यो संस्थाको स्थापना भएको थियो






