विप्लवका कार्यकर्ताको मुद्धा फिर्ता लिने तयारी गर्दै सरकार

काठमाडौं  । सरकार र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ ।

गृह मन्त्रालयमा शनिबार भएको छलफलमा २०७७ फागुन २० गते सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा पनि छलफल भएको बताए ।

वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी गराए ।

बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले आफ्नो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको र केही विषय टुगों लागेको भन्दै छिट्टै निष्कर्ष निस्कने बताए ।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र प्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।