एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी

काठमाण्डौ : राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने तयारी गरेको छ । अहिले नेपाली दूताबास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू भएको छ ।

एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी जारी गर्नलाई विभागले ई-पासपोर्टका लागि आवश्यक सामग्री नियोगहरूमा पठाउन थालेको छ ।

राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण गर्न शुरू भएसँगै अहिले एमआरपी राहदानी वितरण गर्न बन्द गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुन्छ भने काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्छ । विदेशबाट निवेदन दिनेको हकमा यो अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र नम्बर जिल्ला प्रशासन कार्यालयबाट पाउन सकिन्छ । ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।

यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।