स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

काठमाडौं। आगामी २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार वैशाख ३० मा देशैभर एकैचरणमा निर्वाचन हुन लागेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचन गर्ने सिफारिस गरेको थियो । यद्यपी सरकारले भने आयोगको सिफारिस भन्दा अघि नै निर्वाचन गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचन जेठ अगावै गर्नु पर्ने स्थानीय तह निर्वाचन ऐनमा उल्लेख गरिएको छ । अहिले कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिँदै छ । संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

मन्त्रिपरिषद् बैठकमा ३० वैशाख र ४ जेठमा निर्वाचनमा हुने प्रस्तावमाथि छलफल भएको थियो । छलफलले ३० वैशाखमा नै निर्वाचन गर्ने निष्कर्ष निकालेको हो । ४ जेठमा निर्वाचन गर्दा केही दिन भए पनि स्थानीय तह खाली हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।